सुचना, समाचार र मनोरन्जन

सकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्म ‘रोल नं १’ का निर्माता पौडेल ढुक्क

काठमाडौँ :

प्रदर्शनको सुरुवाती दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले फिल्म ‘रोल नं १’ का निर्माता विनोद पौडेल उत्साहित र ढुक्क देखिएका छन्। शुक्रबार सिनेमा हल पुगेर फिल्म हेर्ने दर्शकले विषयवस्तुलाई मन पराइदिएपछि अब फिल्मले व्यावसायिक गति लिनेमा निर्माण पक्ष विश्वस्त बनेको हो।

फिल्म हेरेका दर्शक तथा बालबालिकाहरूले सामाजिक सञ्जालमा फिल्म शिक्षामुलक र हेर्नैपर्ने भन्दै प्रतिक्रिया दिन थालेका छन्। दर्शकको यही सकारात्मक ‘वर्ड अफ माउथ’ (प्रशंसा)का कारण फिल्मले हलहरूमा राम्रो दर्शक तान्ने निर्माता पौडेलको दाबी छ। सामाजिक सञ्जालमा कतिपय दर्शकले यसलाई ऐतिहासिक फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सँग तुलना गर्दै सोभन्दा पनि राम्रो बनेको टिप्पणी समेत गरेका छन्। यस प्रकारको प्रतिक्रियाले ‘रोल नं १’ ले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै सुखद व्यावसायिक यात्रा तय गर्ने आशा जगाएको निर्माता पौडेलले बताए।

‘हामीले जुन उद्देश्य र अपेक्षा राखेर यो फिल्म बनाएका थियौँ, दर्शकले त्यसलाई सोही रूपमा बुझिदिनुभएको छ,’ निर्माता पौडेलले भने,‘दर्शकको यो प्रतिक्रियाले सिंगो टिमलाई निकै उत्साहित बनाएको छ । यो फिल्म साढे दुई घण्टा समय बिताउने माध्यम मात्र नभएर हेरिसकेपछि पनि दिमागमा लामो समय खेलिरहने सामाजिक दस्तावेज बनेको छ।’

के छ फिल्ममा?

फिल्मले वर्तमान स्कुले शिक्षा, यसको महत्त्व र अहिलेको परम्परागत मूल्यांकन विधि (परीक्षा प्रणाली)ले बालबालिकाको मनोविज्ञानमा पारिरहेको गम्भीर असरलाई मुख्य विषय बनाएको छ। साथै, राम्रो अंक ल्याउन अभिभावकले दिने दबाब र त्यसले बालबालिकामा निम्त्याउने परिणामलाई फिल्ममा सजीव ढंगले प्रस्तुत गरिएको छ।

दर्शक भेट्न कलाकार मोफसलमा

यसैबीच, हलहरूमा दर्शकको प्रतिक्रिया प्रत्यक्ष बुझ्न फिल्मको मुख्य टोली मोफसल दौडाहामा निस्किएको छ । मुख्य अभिनेता मुकुन भुसाल, सुशांक मैनाली र शंकर आचार्य यतिबेला झापाका विभिन्न सिनेमा हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। झापाबाट सुरु भएको यो देशव्यापी प्रचार तथा साक्षात्कार यात्रा अन्य प्रमुख सहरहरूमा पनि जारी रहने निर्माण टिमले जनाएको छ।

जोन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। त्यस्तै बाल(कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्मको सह(निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् भने फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.