काठमाडौं :
आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा विनोद न्यौपानेले र जुना विश्वकर्मालाई प्रेम प्रस्ताव राखेका छन्। उनीहरुले वास्तविक रुपमा नभई फिलमको कथा अनुसार गीतमा राखेका हुन्।
यस गीतको भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। लोकलयमा आधारित यो गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारले गाएका हुन्। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत प्रशान्त शिवाकोटी स्वयंको छ।
प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले सहयोग गरेका छन्। गीतमा मन परेको मान्छेलाई गरेको प्रेम प्रस्ताव र त्यसमा युवतीले दिएको जवाफ छ। युवकले सँगै जीवन विताउन गर्ने प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रह गीतमा समावेश छ।
विनोद पौडेलको निर्माणमा बनेको यस फिल्ममा विद्यार्थीको मनोविज्ञानको कथा भन्ने छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।
जोन योञ्जनको निर्देशनमा निर्माण भएको यस फिल्ममा विनोदका अलवा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ। फिलमको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । महेश दवाडीले लेखेको यस फिलमको सुटिङ हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको थियो। यस फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन्।
फिल्मका गीतमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । मदन घिमिरेको सम्पादन रहेको यस यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याउँदैछ। नेपालमा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ।