काठमाडौं :
फिल्म ‘रोल नं १’को गीत सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको टाइटल सङ रिलिज गरिएको हो। टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको छ।
सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ। जसमा एक ग्रामीण भेगका बालकको कथा प्रस्तुत गरिएको छ। गीतका शब्दहरूले ‘अरू सबै मुर्ख, एउटै मात्र विद्वान’ भन्ने सोचमार्फत विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक प्रवृत्तिमाथि कडा प्रहार गरेको छ।
गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ। पढाइसँगै गलत शैक्षिक प्रणालीका कारण बालबालिकामा कस्तो असर पर्छ भन्ने फिल्मको मुख्य विषय हो। यही थिमलाई केन्द्रमा राखेर गीत तयार गरिएको हो।
भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर तथा ग्रामीण स्कुलको जनजीवनलाई कलात्मक ढंगले उतारिएको छ। एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता देखाइएको छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको चाहनालाई दबाइएको देखिन्छ। ‘रट्टा मार’ प्रवृत्तिमाथि पनि गीतले व्यङ्ग्य गरेको छ, जहाँ विद्यार्थीलाई बुझ्नुभन्दा घोक्न बाध्य बनाइन्छ।
गीतले फिल्मलाई थप आकर्षक बनाउने देखिएको छ। भविष्य उज्ज्वल बनाउन स्कुल जाने विद्यार्थीमाथि नै पर्ने नकारात्मक प्रभावलाई गीतमार्फत देखाउने प्रयास गरिएको छ। ‘हरेक विद्यार्थीको कथा’ भन्ने स्लोगन बोकेको विनोद पौडेलको फिल्म ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)देखि देशभर प्रदर्शनमा आउनेछ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्।
फिल्मको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा छायांकन गरिएको फिल्मका डीओपी शिवराम श्रेष्ठ हुन्।
फिल्ममा प्रशान्त शिवाकोटीको सङ्गीत, रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक, फिरोद खड्काको चिफ एडी, कला सङ्ग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको प्रोडक्सन हेडको जिम्मेवारी रहेको छ। फिल्मका सम्पादक मदन घिमिरे हुन्।
निर्माता पौडेलका अनुसार फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन्।