पोखरा,
पोखरामा आयोजना हुँदै आएको रोपाई महोत्सव यसवर्ष पोखरा- ३० शिशुवामा हुने भएको छ । यसपालीको पोखरा पर्यटन परिषद् र वडास्तरीय कृषि सञ्जाल, पोखरा महानगरपालिका-३० बीच ‘२१औँ असारे रोपाइँ महोत्सव २०८३’ आयोजना तथा सञ्चालन सम्बन्धी सम्झौता भएको हो ।
बुधबार सम्पन्न सम्झौताअनुसार आगामी असार १४ गते पोखरा महानगरपालिका-३० अन्तर्गत शिशुवा चोक र मोहरियाबीच रहेको देउराली खोलाको खेतमा महोत्सव आयोजना गरिनेछ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने सहमति दुवै पक्षबीच भएको हो।
सम्झौता पत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र वडास्तरीय कृषि सञ्जालका अध्यक्ष बाबुराम ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा सदस्य उमा परियार, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, महासचिव जीवनराज सापकोटा, कार्यक्रम निर्देशक विष्णु तिमिल्सिना तथा होटल एण्ड रेष्टुरेण्ट एसोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेको उपस्थिति रहेको थियो।
त्यसैगरी वडास्तरीय कृषि सञ्जालका अन्य पदाधिकारी तथा सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा महोत्सवलाई कृषि पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो।
आयोजकका अनुसार असारे रोपाइँ महोत्सवमा परम्परागत धान रोपाइँ, स्थानीय संस्कृति झल्किने प्रस्तुति, कृषि परिकार तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछन्। महोत्सवले कृषिप्रति आकर्षण बढाउनुका साथै पोखराको ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।