पोखरा ।
रोटरी क्लव अफ पोखरा फिस्टेलले पर्वत जिल्लाको पैयुँ गाउँपालिका हुवासमा तीन दिने आँखा शिविर सम्पन्न गरेको छ । पौष २३ देखि २५ गतेसम्म भएको आँखा शिविरमा १ हजार ५१ जनाले उपचार गराएका छन् । जसमध्ये ४० जनाको अप्रेशन गरिएको छ । पैयुँ गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको आँखा शिविरको प्राविधिक सहयोग हिमालयन आँखा अस्पताल पोखराबाट थियो ।
गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मित्रलाल बस्याल थिए । रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष भुपेन्द्र ज्वारचन, डिस्ट्रिक गर्भनर नोमिनी विनोद कोइरालाको विशेष आतिथ्यतामा भएको आँखा शिविरमा स्थानीयले लाभ लिएका छन् ।
कार्यक्रममा मित्रलाल बस्यालले पैयुँ हुवासमा आएर रोटरीले गरेको स्वास्थ्य सम्बन्धि कार्यक्रम सह्रानिय भएको बताए । उनले पैयुँका नागरिकको स्वास्थ्य सुरक्षामा आफु पनि सचेत भएको र प्रदेश सरकारबाट पैयुँको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गरी बजेट विनियोजन गर्ने तर्फ समेत अग्रसर रहेको उल्लेख गरे ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले गाउँघरका सबैले शहरको ठूलो अस्पतालमा सेवा लिन नसक्ने र त्यस्ता अशक्ता विरामीलाई यस्तो शिविरले ठूलो राहत मिल्ने उल्लेख गरे । गाउँपालिका नागरिकको स्वास्थ्यमा गम्भिर रहेको भनाई उनको छ ।
कार्यक्रममा गर्भनर नोमिनी विनोद कोइरालाले सेवाको काम गर्न आफुहरु तत्पर रहेको उल्लेख गरे । स्थानीयले चासो देखाए हरेक ठाउँमा पुगेर यस्ता शिविरको आयोजना गरिने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाको हेल्थपोष्टलाई दुई थान ह्विल चियर पनि उपलब्ध गराइएको छ । यस्तै स्थानीय जनसेवा सेकेन्डरी स्कुल हुवासलाई सेनीटरी आइटम्स (डिएफजी) वितरण गरिएको छ । रोटरी क्लव पोखराको आयोजना आइसिओ फाउन्डेसनको सहयोगमा विद्यालयमा अध्ययनरत १ सय छात्रालाई सहज होस् भन्दै हेडम्याड कपडाको सेनीटरी प्याड वितरण गरिएको हो । जसको फाइदा र प्रयोगका बारेमा क्लबका पूर्व अध्यक्ष लक्ष्मी थापा गिरी र उपाध्यक्ष कमला गिरीले जानकारी गराएकी थिइन् ।