सुचना, समाचार र मनोरन्जन

सहारा क्लबद्वारा देउसी–भैलोबाट ११ लाख ६८ हजार बढी सङ्कलन

विपन्न बालकको भविष्य निर्माणमा जुट्दै क्लब

पोखरा,

तिहारको सांस्कृतिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै सहारा क्लब पोखराले देउसी–भैलो कार्यक्रमबाट ११ लाख ६८ हजार रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ। विपन्न तथा कठिन परिस्थितिमा रहेका बालकहरूको भविष्य निर्माण र फुटबल प्रतिभाको विकासमा जुट्दै आएको क्लबले यस वर्षको देउसी–भैलोबाट ११ लाख ६८ हजार ६१३ रुपैयाँ संकलन गरेको हो।

क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग जुटाउने उद्देश्यले देउसी–भैलो कार्यक्रम २०८३ आयोजना गरिएको क्लबले पोखराक्लिकलाई जनाएको छ।

एकेडेमीमा आश्रित बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षणका लागि आवश्यक स्रोत जुटाउन कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार देउसी–भैलोबाट प्राप्त सहयोगले आर्थिक अवस्था कमजोर भएका बालकहरूलाई फुटबलमार्फत आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्‍याउनेछ।

Pach Pandav

सहारा क्लबले स्थापनाकालदेखि नै देउसी–भैलो कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै निरन्तरता दिँदै आएको छ। क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले यस कार्यक्रमबाट प्राप्त सहयोग सहारा एकेडेमीका बालकहरूको प्रशिक्षण, शिक्षा र जीवनयापन व्यवस्थापनमा महत्वपूर्ण आधार बन्दै आएको बताउनुभयो। उहाँले विपन्न परिवारका बालकहरूलाई उचित अवसर प्रदान गर्दै उनीहरूको भविष्य निर्माणमा कार्यक्रमले योगदान पुर्‍याएको उल्लेख गर्नुभयो।

कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने व्यक्ति, संघसंस्था, व्यावसायिक प्रतिष्ठान र शुभेच्छुकप्रति अध्यक्ष थापाले आभार व्यक्त गर्नुभएको छ। उहाँले क्लबका पूर्वअध्यक्ष, मानार्थ सदस्य, सल्लाहकार, आजीवन, साधारण तथा जुनियर सदस्य, विदेशमा रहेका क्लबका सदस्य र शुभेच्छुकहरूको सहयोगको प्रशंसा गर्नुभयो।

त्यसैगरी, आफ्नो समय, श्रम, कला, संस्कृति र सिर्जनामार्फत कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने कलाकार तथा सम्पूर्ण सहयोगीप्रति क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ।

क्लबका अनुसार देउसी–भैलोबाट संकलित रकम सहारा एकेडेमीमा आश्रित बालकहरूको आवास, भोजन, शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण तथा एकेडेमीको नियमित सञ्चालन र व्यवस्थापनमा खर्च गरिनेछ।

Leave A Reply

Your email address will not be published.