सुचना, समाचार र मनोरन्जन

सामाजिक सुरक्षा कोष अब अनिवार्य

काठमाडौँ,

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा गरेको घोषणाअनुसार अब सबै प्रकृतिका वा जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सहकारी संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण पेस गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

तर, योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना भएर कार्यान्वयनमा आएको करिब आठ वर्ष बितिसकेको छ । कोष स्थापना भएसँगै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा सामाजिक सुरक्षा स्वैच्छिक हुने उल्लेख गरिएको थियो ।

तर स्वैच्छिक भनेसँगै व्यावसायिक प्रतिष्ठानहरू कोषमा आबद्धता कम हुने भएपछि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा निजी क्षेत्रका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरू कोषमा आबद्ध हुनुपर्ने अनिवार्य कानुन व्यवस्था गरिएको थियो ।

श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावलीलाई संशोधनमार्फत निजी क्षेत्रका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूलाई कोषमा अनिवार्य आबद्ध हुनुपर्ने व्यवस्था गरेको थियो ।

कोष स्थापना भएको ८ वर्षसम्म श्रम बजारमा योगदान गर्ने २० हजार ४ सय ६७ रोजगारदाताले ५ लाख ७९ हजार ९४८ श्रमिकलाई मात्रै कोषमा आबद्ध गराएका छन् । नेपाल श्रम शक्ति सर्वेक्षण प्रतिवेदन २०१७÷१८ अनुसार अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार, औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र स्वरोजगारीमा १८ लाख रहेको छ ।

तथ्याङ्क विभागले जारी गरेको आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन् । जसमध्ये ४ लाख ६२ हजार ६ सय ५ वटा प्रतिष्ठान अर्थात् कुल संख्याको ५०.१ प्रतिशत र दर्ता नभएका ४ लाख ६० हजार ४ सय २२ वटा प्रतिष्ठान अर्थात् कुल संख्याको ४९। ९ प्रतिशत संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभएरै सञ्चालन भइरहेको देखाएको छ ।

प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्तिको संख्या ३२ लाख २८ हजार ४ सय ५७ रहेकोमा २० लाख १२ हजार २ सय ३७ (६२.३ प्रतिशत) र महिला १२ लाख १६ हजार २ सय २० (३७.७ प्रतिशत) महिला रहेको देखाएको छ ।

तर यता सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको ८ वर्ष बितिसक्दा २२ लाख ७ हजार श्रमिक आबद्ध भएका छन् । त्यसमा सबैभन्दा ठुलो हिस्सा वैदेशिक रोजगारीमा जानेको रहेको छ । यो योगदानकर्ताको सख्या हो ।

त्यस्तै, रोजगारदाता कम्पनीहरू २० हजार ४६७ रहेका छन् । वैदेशिक रोजगारमा जाने १६ लाख २६ हजार श्रमिक कोषमा आबद्ध भएका छन् । -रातोपाटी

Leave A Reply

Your email address will not be published.