सुचना, समाचार र मनोरन्जन

जी–२० को १८ औँ शिखर सम्मेलनलाई सगरमाथाको शुभकामना

नेतृत्वमा कुटनीतिक अडान र विश्वासको वातावरण नबन्दा विश्वको सर्वाधिक अग्लो चुली सगरमाथाको देश, शान्तिका प्रतीक गौतम बुद्धको देश, जलस्रोतको दोस्रो धनी देश, रामजानकी, रोटीबेटीको सम्बन्ध भएको देश, गोर्खा र शेर्पाहरूको देश नेपाल जी–२० मा गयल हुनु सुखद नभए पनि सगरमाथाको देशबाट शिखर सम्मेलनको सार्थकता र सफलताका लागि शुभकामना ।

सम्पादकीय /

ठूला अर्थतन्त्र भएका राष्ट्रहरूको सङ्गठन जी–२० को दुई दिने शिखर सम्मेलनमा भाग लिनका लागि विश्वभरका शक्तिशाली र बलशाही राष्ट्रका प्रंमुखहरू भारतको नयाँ दिल्लीमा भेला भएका छन् । दिल्लीको प्रगति मैदानस्थित ‘भारत मण्डप’ को सिगारपटार बेहुलीकोभन्दा बढी छ भने सुरक्षा व्यवस्था अत्यन्तै बडा बनाइएको छ । शनिबारबाट सुरु हुने विश्वको सर्वाधिक ठूलो शिखर सम्मेलनका रूपमा जी–२० लाई हेरिएको छ। यो महाशक्ति राष्ट्रहरूको हाइप्रोफाइल महाभेला हो । सम्मेलनमा जलवायु परिवर्तन, विकास, वैश्विक सुशासन र हरित प्रविधिलगायतका पेचिला मुद्धामा सघन छलफल र साझा धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० को मञ्चमा देखिने छैनन् । चीनले प्रधानमन्त्री ली छियाङ्लाई पठाएको छ । भने रुसले विदेशमन्त्री सेर्गेई लाभरोभलाई भारत पठाएको छ । खासमा जी–२० लाई अमेरिकी नेतृत्वको समूहको ट्याबु लागेको छ । यसलाई चुनौती दिन चीनले आफू अनुकूलको समूह बनाउने कसरत गरिरहेको छ । यस अघिका सबै शिखर सम्मेलनमा उनीहरूको उपस्थिति रहेको थियो । जसले गर्दा आयोजक राष्ट्र भारतलाई साझा दस्तावेजमा हस्ताक्षर गराउन सास्ती हुनेछ । चीन र रुसको अभाव खट्किनेछ । उनीहरूको अनुपस्थितिमा रुस युक्रेन युद्ध र विश्वव्यापी शान्ति सुरक्षाको विषय ओझेलमा पर्ने देखिन्छ ।

शिखर सम्मेलन आयोजक भारतले सम्मेलनको नारा ‘बसुदैव कुटुम्बकम्’ तय गरेको छ । समग्र विश्वलाई एक परिवार र एक भभिव्यका रूपमा हेरिएको छ । भारत जी–२० को दक्षिण एसियाको एकल सदस्य देश हो । जी–२० मा विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत हिस्सा जमाएका देशको ७५ प्रतिशतभन्दा माथि जनसङ्ख्या रहेका छन् । यसमा विश्वका १९ देश र युरोपियन युनियनको सहभागिता रहेको छ । अमेरिका, चीन र रुसले एउटै छातामा आवद्ध भए पनि शीतयुद्धको तुष भने मेटिएको छैन् ।

सन् १९९९ मा एसियामा आर्थिक सङ्कटका विषयमा छलफल गर्न जी–२० का देश एउटै मञ्चमा सहभागी भएका थिए । सन् २००७ मा विश्वव्यापी आर्थिक सङ्कटलाई यसले सम्बोध नगरिसकेको छ । विश्वमा भारतको अर्थतन्त्र पाँचौँ नम्बरमा छ भने जनसंख्याको हिसावमा दोस्रो छ । शिखर सम्मेलनपछिको अवस्थामा भारत तेस्रो नम्बरमा आउन सक्ने अनुमान गरिएको छ । विश्व विकासमा मानव केन्द्रित अवधारणा अघि सार्नु र साझा भविष्यका लागि मानवताको एकता, विश्वावासी एक परिवारले नै प्रगति र समृद्धि प्राप्त हुने उद्घोषले नरेन्द्र मोदीकोे साख बढ्न देखिन्छ।

भर्खरै चन्द्रमामा अन्तरिक्ष मिसिन सफल बनाएको भारतका लागि यो शिखर सम्मेलन आयोजना गर्नु पहिलो र सर्वाधिक ठूलो अवसर हो । हिन्दु, हिन्दुत्व र भारतको ब्राण्डिङ् गर्न मोदीलाई यसले विश्वव्यापी रूपमा सघाउने छ । यसको दृष्टान्त लोगो मा कमलको फूलमा विश्व राखिएको छ भने र नारा ‘बसुदैव कुटुम्बकम्’ तय गरिएको छ । साथमा इण्डिया शब्दको होइन भारत शब्दको प्रयोग गरिएको छ । यसले भारत देश र डायस्पोरा दुवैलाई बलियो बनाउने अनुमान गरिएको छ । सिंगापुरका राष्ट्रपति थर्मान सानगुगारतनाम, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, आयरल्याण्डका प्रधानमन्त्री लिओ इरिक वारादकार, पोर्चुगलका एन्टोनियो कोस्टा, मौरिससका प्रमिण जगनाथ, गुयनाका राष्ट्रपति महेम्मद इर्फान अली, भारतीय मुलका जीन हुन् ।

नेपाल चीन र भारतको छिमेकी मुलुक हो । दायाँवायाँको सर्वाधिक जनसङ्ख्या र आर्थिक विकासका हिसाबले नेपालले जति लाभ लिनु पर्ने हो त्यति लिन सकेको छैन् । जी–२० मा भारतले बङ्गलादेशलाई निम्तो दिँदा नेपाललाई बोलाएन । नेपालको राजनीतिक अस्थिरता र नेतृत्वको अडान नहुँदा निम्तोबाट बञ्चित बनेको छ । नेपाल भारतसम्बन्ध विश्वसनीय र प्रभावकारी छैन् भन्ने बोध हुन्छ । जी–२० को शिखर सम्मेलनले तय गर्ने विषयले नेपाललगायत दक्षिण एसियाली मुलुकलाई प्रत्यक्ष प्रभाव पार्छ । जलवायु परिवर्तनको विश्वव्यापी मुद्धामा नेपालले पनि कोष र प्रविधि हस्तान्तरणमा सहभागिता जनाउन सक्छ । पिछडिएका छिमेलीलाई चीन र भारतले साथ दिनुपर्छ ।

शक्ति सम्पन्न र धनी देशका पाहुनाले दिल्लीमा सुनचाँदीका भाँडामा विशिष्ट र मिठो खान्की खाइरहँदा नेपालको नेतृत्व ¥याल चुहाएर बसेको छ । विकसित र सम्पन्न देशका राष्ट्रप्रमुखहरू आफ्नो देशको समृद्धिका लागि चिन्तन गरिरहँदा नेपाली नेतृत्व भ्रष्टाचार र कुशासनको दलदलमा भासिएको छ । विवेकमा बिर्को लागेको नेतृत्वले आकाश हेर्ने फुर्सद समेत पाएको छैन् । चन्द्रमा र चन्द्रयानको कुरा त सपना जस्तै भएको छ । नेतृत्वमा कुटनीतिक अडान र विश्वासको वातावरण नबन्दा विश्वको सर्वाधिक अग्लो चुली सगरमाथाको देश, शान्तिका प्रतीक गौतम बुद्धको देश, जलस्रोतको दोस्रो धनी देश, रामजानकी, रोटीबेटीको सम्बन्ध भएको देश, गोर्खा र शेर्पाहरूको देश नेपाल जी–२० मा गयल हुनु सुखद नभए पनि सगरमाथाको देशबाट शिखर सम्मेलनको सार्थकता र सफलताका लागि शुभकामना ।

Leave A Reply

Your email address will not be published.