सुचना, समाचार र मनोरन्जन

 ‘मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक’: प्रधानमन्त्री ओली

बैंकक/

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको एशियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताउनुभएको छ ।

थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाकाे व्याख्या गर्दै मानवीय चाहनासहितको खुशीभन्दा अर्काे ठूलो कुरा नभएको धारणा व्यक्त गर्नुभयो । जलवायु परिवर्तनलगायत विश्वव्यापी रूपमा रहेका साझा मुद्दा सम्बोधनका लागि राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी रूपमा समेत संयुक्त प्रयास हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि विश्वसमुदायसँग आह्वान पनि गर्नुभयो ।

नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औं शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गर्नुभयो ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले याे संस्थामा बढी विदेशी विद्यार्थी अध्ययन गर्ने हिसाबले नेपाल चौथो स्थानमा रहेको र एआईटीसँगको सहकार्य आफूहरूको प्राथमिकतामा परेको बताउनुभयो ।

एआईटीमा अहिले एक सय ८१ जना नेपाली विद्यार्थी अध्ययनरत छन् भने अहिलेसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन पूरा गरेका छन् । अहिले यस संस्थाको ‘बोर्ड अफ ट्रष्टी’ मा तीन सदस्यसहित सात जना ‘फ्याकल्टी मेम्बर’ नेपाली रहेका छन् ।

प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको टोलीलाई संस्थाका ‘प्रेसिडेन्ट’ प्रा. पाई ची लीसहितले स्वागत गर्नुभएको थियो । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ्थान् शिनावात्राकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्यान्ड भ्रमण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आजै बिम्स्टेक सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.