एजेन्सी/
सन् २०२४ मा समुद्रको सतह अनपेक्षित रूपमा बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा समुद्रको सतह शून्य दशमलव ५९ सेन्टिमिटरले बढेको पाइएको छ ।
अघिल्ला वर्षहरूमा यस्तो वृद्धि शून्य दशमलव ४३ सेन्टिमिटर मात्रै हुन्थ्यो । नासाले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा अपेक्षा गरेभन्दा बढी स्तरमा समुद्र सतहको वृद्धि भएको उल्लेख छ।
समुद्र सतह बढ्नुको कारणमध्ये दुई तिहाइ हिस्सा तापक्रम बढेर समुद्रको पानीमा हुने विस्तार रहेको छ । बाँकी जमिनमा रहेको हिउँ र हिमनदी पग्लिएर पुगेको पानीले बढेको हो ।
समुद्रको सतह पछिल्लो तीन दशकदेखि बढ्न थालेकोमा यो वर्ष उच्च भएको हो । सन् १९९३ यता समुद्रको सतह १० सेन्टिमिटरले बढिरहेको छ । सन् १९९२ देखि उपग्रह प्रविधिमार्फत समुद्र–सतहको निरन्तर अवलोकन गरी सतहको दीर्घकालीन रेकर्ड राख्न थालिएको हो ।
सन् २०२० मा प्रक्षेपण गरिएको सेन्थिनेल–सिक्स बी भूउपग्रहले विश्वका ९० प्रतिशत समुद्रको सतहलाई मापन गर्न सक्दछ । समुद्रको सतह बढ्नुले जलवायु परिवर्तनको असर अझ विकराल बन्दै गएको वैज्ञानिकहरू बताउँछन् ।