सुचना, समाचार र मनोरन्जन

सञ्चारिका गण्डकीको पहिलो कार्ययोजना: आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण

पोखरा,

सञ्चारिका गण्डकी प्रदेशले आफ्नो पहिलो वार्षिक कार्ययोजनाको सुरुवात आध्यात्मिक तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेर गरेको छ।

सञ्चारिका गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रममा बदलिँदो पत्रकारिता, सूचना प्रवाहको तीव्रता र बढ्दो पेशागत जिम्मेवारीका कारण महिला पत्रकारहरूले सामना गर्नुपर्ने मानसिक तनाव, दबाब तथा चुनौतीका विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा प्रशिक्षकका रूपमा ब्रह्माकुमारी मञ्जु दिदी, सञ्चारिका समूहकी पूर्वअध्यक्ष बविता बस्नेत, कोपिला नेपालकी निर्देशक बिमा शिलवाल तथा सञ्चारिका समूहकी पूर्वअध्यक्ष लक्ष्मी आचार्यले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले मानसिक स्वास्थ्यको महत्त्व, तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्मबल अभिवृद्धि तथा पत्रकारितामा आध्यात्मिक दृष्टिकोणको आवश्यकताबारे प्रशिक्षण दिनुभएको थियो।

आयोजकका अनुसार पत्रकारिताको बदलिँदो स्वरूपसँगै सूचनाको भारी जिम्मेवारीले महिला पत्रकारहरूलाई विभिन्न प्रकारका मानसिक र भावनात्मक दबाब सिर्जना गरिरहेको सन्दर्भमा उनीहरूको मनोबल बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका ४० जना भन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अपेक्षाभन्दा उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ। सञ्चारिका गण्डकी प्रदेशले पहिलो कार्यक्रममै प्राप्त सकारात्मक सहभागिताले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि र कल्याणमुखी कार्यक्रम सञ्चालन गर्न थप प्रेरणा मिलेको विश्वास व्यक्त गरेको छ।

सञ्चारिका गण्डकी प्रदेशले महिला पत्रकारहरूको पेशागत विकास, नेतृत्व क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य संरक्षण तथा समसामयिक विषयमा केन्द्रित कार्यक्रमलाई आगामी कार्ययोजनामा निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.