काठमाडौं :
सञ्जय राईको डेब्यु निर्देशनमा फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरेको हो।
यूके बस्दै आएका सञ्जय लामो समयदेखि सिनेमा मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए। यूके बसाइँका क्रममा पनि सिनेमा निर्माणप्रतिको आफ्नो प्यासनलाई निरन्तरता दिँदै आएका राईको यो पहिलो निर्देशन यात्रा हो।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन्। उनी फिल्ममा ‘आश’ पात्रको भूमिका देखिनेछिन्।
केही समयको अन्तरालपछि नयाँ सिनेमामा जोडिएकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले फिल्ममा ग्याप देखिएको बताउँदै यस फिल्ममा भने आफ्नो पात्र मन परेकाले काम गर्न तयार भएको बताइन्। आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै सिनेमालाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन्।
‘म यो सिनेमा र सिनेमाको टिमसँग जोडिन पाउँदा निकै खुसी छु। मलाई फिल्मको क्यारेक्टर मन पर्यो, त्यसैले काम गर्न राजी भएकी हुँ’, उनले भनिन्, ‘सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले सिनेमाको क्यारेक्टरबारे बताएपछि मेरो सोच परिवर्तन भयो ।’
उनले निर्देशकले आफ्नो सोच अनुसार नै उक्त पात्रलाई विकास गर्न खोजेको बताइन् । ‘उहाँले मेरो भिजनसँग मिल्ने गरी त्यो क्यारेक्टरमार्फत फिल्म बनाउने सोच्नुभएको रहेछ। मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ। मेरो क्यारेक्टर धेरै साहसिक,बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन्।
फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले फिल्मको कथावस्तुको संकेत गर्छ। डेब्यु निर्देशक सञ्जयले फिल्म युवापुस्ताको कथामा आधारित रहेको बताए। उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।
कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन्। नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ। यो सिनेमाको छायांकन आगामी फागुनबाट सुरु हुनेछ।
घोषणा कार्यक्रममा फिल्मकी कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन् । कार्यकारी निर्माताको रूपमा सिनेमा क्षेत्रमा नयाँ यात्रा सुरु गर्न लागेको उल्लेख गर्दै उनले भनिन्, ‘यो मेरो लागि नयाँ भूमिका हो । कार्यकारी निर्माताको रूपमा सिनेमा इन्डस्ट्रीमा आइरहेकी छु । त्यसैले यो मेरो लागि धेरै स्पेशल छ।’ निर्माण पक्षका अनुसार फिल्मका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको छ।