सुचना, समाचार र मनोरन्जन

संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

काठमाडौं,

संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बसिरहेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।

गत २१ फागुनको निर्वाचनपछि यो पहिलो औपचारिक बैठक हो । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूसहित संघीय संसदको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको हो ।

प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।

यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । एक जना स्वतन्त्र (महावीर पुन) निर्वाचित सांसद छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । ३८ सिटसहित कांग्रेस दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो दल बनेको छ ।

पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिट ल्याएर संसद्को पाँचौं दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ ।

Leave A Reply

Your email address will not be published.