सुचना, समाचार र मनोरन्जन

बृहत् सरसफाई कार्यक्रम सम्पन्न

पोखरा,

चिप्लेढुंगा सिद्धार्थचोक व्यववसायी समितिले आफ्नो स्थापना दिवसको छेको पारेर पोखरा महानगरपालिका वडा नं ४, ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोकसम्म बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई कार्यक्रमबाट संकलित दुई ट्रक फोहोर नगरपालिकाको गाडीले उठाएको थियो ।

पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार क्षेत्र भित्र पोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा बटुवा र त्यस वरपर व्यापार गरेर बस्ने व्यापारीहरूलाई पनि असर परेको हुँदा यो कार्यक्रम गर्नु परेको कार्यसमिति सदस्य बृहत् सरसफाई कार्यक्रमका संयोजक जनकराज सुबेदीले जानकारी दिए । सोही अवसरमा सचिव नवीन श्रेष्ठले पोखरा सुन्दर छ, सुन्दरतालाइ बचाई राख्न र फोहोरमैला व्यवस्थापन गर्नका लागि पनि यस्ता कार्यक्रमहरु गर्न जरुरि भएको बताए ।

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा जथाभाबी फोहोरमैला फालेको भेटिएमा स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिनेछ भन्ने सूचना बोर्ड विभिन्न ५ ठाउँमा पनि राखिएको उपाध्यक्ष लक्ष्मण न्यौपाने बताए ।

कार्यक्रमका अतिथि ४ नम्बर वडाका अध्यक्ष देवकृष्ण पराजुलीले भाषण भन्दा पनि काम गरेर देखाउनु आजको आवश्यकता भएको बताए । चिप्लेढुंगा सिद्धार्थचोक व्यावसायी समितिले आफ्नो स्थापना देखिनै विभिन्न सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद दिदै पराजुलीले समितिसँग सहकार्य गरेर आउँदा दिनहरूमा पनि यस्ता काम गर्न वडा सधै तयार रहेको जानकारी गराए ।

जथाभावी फोहोर फाल्नेलाई स्थानीय स्वयत्त शासन ऐन वमोजिम कार्वाही गरिने हुँदा सर्वसाधरण सबैलाई नगरपालिकाको फोहोर उठाउने गाडी आएपछि मात्र फोहोरमैला फाल्न अनुरोध समेत गरे । बृहत सरसफाई कार्यक्रममा समितिका सल्लाहकार डी।बि। भुजेल, पूर्णबहादुर थापा र मोती भुजेलको पनि उपस्थिति रहेको जानकारी संयोजक सुवेदीले दिए ।

पोखरा ट्रेडमलका व्यवसायीहरू र चिप्लेढुंगा टोलसुधार समितिको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्ष्यता समितिका दुर्गा सुनारले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.