सिरहा जिल्लाको बरियारपट्टी गाउँका सत्यनारायण साफीले संघर्षलाई सफलतामा बदल्दै सबैका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। दैनिक ज्यालादारी मजदुरी गरेर आफ्नो र परिवारको जीविका चलाउँदै आएका साफीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न सफल भएका छन्।
आर्थिक अभाव, कठिन परिस्थितिहरू र सीमित स्रोतबीच पनि अध्ययनप्रति उनको अठोट, मेहनत र धैर्यले आज उनलाई चिकित्सक बन्ने बाटोमा पुर्याएको छ। उनको यो असाधारण उपलब्धिलाई सम्मान गर्दै ग्रीन एण्ड क्लिन आशिका फाउन्डेसनले सत्यनारायण साफीलाई रु १ लाखआर्थिक सहयोग प्रदान गरेको छ।
फाउन्डेसनले उनको साहस, समर्पण र संघर्षपूर्ण यात्रालाई कदर गर्दै भविष्यमा अझ अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले सहयोग गरेको जनाएको छ।
सत्यनारायण साफीको जीवनयात्राले स्पष्ट सन्देश दिन्छ—यदि इच्छाशक्ति बलियो छ भने गरिबी, अभाव र कठिनाइले पनि लक्ष्यसम्म पुग्न रोक्न सक्दैन। उनको सफलता सिरहा मात्र होइन, सम्पूर्ण नेपालका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।