काठमाडौं :
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालले ठुम्का मारेका छन्। कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ। गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन्। गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन्।
प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको गीत रिलिज कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए। उनले फिल्मको गीत जस्तै फिल्म पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए।
फिल्मको गीत रिलिज कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन्।
उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो।’
यो फिल्मले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ । फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक साने मिलेर लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन्।