स्याङ्जा/
स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले दशैँ र तिहार अवधिमा सयपत्री फूल तथा माला बिक्रीबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।
उहाँले दशैँ र तिहार अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गर्नुभएको हो । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी चार लाख ९१ हजार ६ सय रुपैयाँ आम्दानी गरेको किसान भण्डारीले बताउनुभयो ।
यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उहाँले जानकारी दिनुभयो । माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन नसकेको किसान भण्डारीले उल्लेख गर्नुभयो ।
बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिर महिनाभरि उत्पादन लिन सकिने उहाँको भनाइ छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पको रूपमा फूलखेती थाल्नुभएको हो ।