सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

पोखरा आएर काँग्रेस नेता शंकर भण्डारीले भने,‘नेपालको राजनीति मियो बिनाको दाँई जस्तो भयो’

पोखरा ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको राजनीति मियो बिनाको दाँई जस्तो अवस्थामा पुगेको बताएका छन् । बुधबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।

भण्डारीले अस्थिर राजनीतिले वितृष्णा ल्याएको उल्लेख गरे । ‘राजनीतिक दलमा अस्थिरता छ । मुलुक सबै मिलेर बनाउनुपर्ने हो । तर यहाँ कसैलाई चिन्ता छैन ।’, उनले भने । नेपाल प्रति अन्तर्राष्ट्रिय स्थरमा अविश्वास बढदै गएको धारणा उनको छ ।

कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था सिर्जना हुनु दुखदायी भएको उनले बताए । निर्माण व्यवसायीलाई मात्र सरकारले ८० अर्ब भूक्तानी गर्न बाँकी रहँदा विकास निर्माणमा समेत सरकारप्रति अविश्वास सिर्जना भएको भनाई उनको छ ।

मिटर ब्याजका कारण धेरै पीडित हुँदा समेत सरकार मुकदर्शक बन्नु उचित नभएको उनले बताए । प्रशासनिक क्षेत्रबाट समेत सोचेजस्तो काम नहुँदा समस्या आएको उनले बताए ।

भण्डारीले काँग्रेस अहिले मुल विचारबाट विचलित भएको बताए । काँग्रेसले अवलम्बन गर्ने नीति समाजवाद उन्मुख हुनुपर्ने धारणा उनको छ । सम्झौताको बाटो काँग्रेस लाग्दा पार्टीमा समस्या उत्पन्न भएको छ ।

sfal

‘काँग्रेस विचार छोडेर विचलित हुँदैछ । विचार सहितको काँग्रेस आजको आवश्यकता हो । सम्झौता गरेर राजनीति हुदैन ।’, उनले भने । काँग्रेसले अहिले हिँडेको बाटो गलत भएको भण्डारीको भनाई छ ।

संविधानमा नै संघीयताको विषयमा पर्नुविचार गर्नुपर्ने उनले बताए । अहिलेको संविधानलाई संशोधन नगरेसम्म विकास सम्भव नभएको धारणा उनको छ ।

उनले गठबन्धनमा नै समस्या आएको उल्लेख गरे । ‘गठबन्धनमा रहेका दलका बीच सुनिश्चितताको अभाव छ । समस्यामा जेलिएको छ गठबन्धन ।’, उनले भने ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले मुलुक भन्दा ठूलो कोइ नभएको र देशको पहिचान जोगाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले सबै कुरा भनिरहँदा आफ्नो व्यक्तिगत स्वार्थ नभएको बताए । नेपाली नागरिक पनि भएकाले आफुले प्रष्ट विचार राखेको भनाई उनको छ ।

अहिलेको राजनीति केवल पदका लागि मात्र भएको र देश गञ्जागोल अवस्थामा रहेको उनले बताए । नेतामा आफु मात्रै बन्ने सोचमा जबसम्म परिवर्तन हुँदैन तबसम्म देशको वास्तविक मुहार फेर्न गाह्रो पर्छ ।

उनले प्रदेश संरचना खर्चिलो र बोझिलो भएको बताए । ‘संघीयतामा प्रदेश आवश्यक भएता पनि खर्चमा कटौति गरिनुपर्छ । प्रदेश सांसदहरुको भूमिका वडाध्यक्षको जस्तो पनि देखिएन भन्ने गुनासो सुनिरहँदा कहिलेकाहिँ सत्य हो कि जस्तो लाग्छ । हामीले ल्याएको संघीयताबाट नागरिकलाई खुशी बनाउन सकेका छैनौं ।’, उनले भने ।

भण्डारीले देशलाई बाह्य शक्तिले चलाइरहेको बताए । पश्चिमाहरुको रणनीति नेपालमा हाबी भएको तर्क उनको छ । उनले सबै नेताको सम्पत्ति छानविन हुनुपर्ने विषयलाई समेत उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.