काठमाडौँ,
सेयरको मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार विनियमावलीमा चौथो संशोधन गर्दै सेयरको दैनिक घटबढको सीमा बढाएर १५ पुर्याएसँगै साे व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।
अहिले एउटा स्क्रिप एक दिनमा बढीमा १० प्रतिशतसम्म मात्रै घट्न वा बढ्न पाउने व्यवस्था थियो । मंगलबार बसेको नेप्से सञ्चालक समितिको बैठकले विनियमावली संशोधनको निर्णय गरेको थियो । शुक्रबार उक्त निर्णय कार्यान्वयनका लागि बोर्डले नेप्सेलाई निर्देशन दिइसकेको छ । त्यसैले आगामी सोमबारदेखि यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।
त्यस्तै,अब बजार ८ प्रतिशत घटबढ भएपछि मात्रै बन्द हुने भएको छ । पहिलो २ घण्टाभित्र ५ प्रतिशत घटबढ भएमा १५ मिनेट कारोबार स्थगित गरिनेछ भने त्यसपछि ८ प्रतिशत घटबढ हुँदा मात्रै बजार बन्द हुने व्यवस्था गरिएको छ ।
यसअघि ६ प्रतिशतमा बजार बन्द हुने गरेको थियो । सुरुको ४ प्रतिशत घटबढ हुँदा २० मिनेट, ५ प्रतिशत तलमाथि हुँदा ४० मिनेट बन्द गर्ने व्यवस्था अहिले छ ।
त्यसैगरी, नेप्सेले प्रि–ओपन सेसनको व्यवस्थामा पनि संशोधन गरेको छ। बिहान १०ः ३० देखि १०ः ४५ सम्म चल्ने यो सेसनमा अब सेयर मूल्य ५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यस्तो सीमा २ प्रतिशत मात्र थियो।
बजार खुल्ने बित्तिकै सेयर मूल्य लक हुने समस्यालाई कम गर्न र वास्तविक माग तथा आपूर्तिको चापलाई सन्तुलनमा ल्याउन यो व्यवस्था गरिएको बताइएको छ ।