मुम्बई :
मुम्बई उच्च अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न रोक लगाएको छ। उनीहरूलाई ६० करोड रुपैयाँ बराबरको ठगी प्रकरणमा संलग्न भएको आरोप लागेपछि अदालतले यस्तो आदेश जारी गरेको हो।
अदालतले जारी गरेको आदेश अनुसार दुवै जना अबदेखि अनुसन्धान अधिकारी वा अदालतको अनुमति बिना देश बाहिर यात्रा गर्न नपाउने भएका छन्। यो आदेश मुम्बई प्रहरीको आर्थिक अपराध शाखा (EOW) मा दायर मुद्दासँग सम्बन्धित छ।
मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीमाथि धोखाधडी, गैरकानुनी लगानी संकलन र आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। अनुसन्धान अधिकृतहरूले उनीहरूबाट ठगीमा संलग्न अन्य व्यक्तिहरूसँगको सम्पर्क, बैंक विवरण र लगानीका कागजात समेत मागेका छन्।
छानबिन जारी रहेकाले अदालतले उनीहरूलाई मुद्दा टुंगो नलागेसम्म देश बाहिर जान नदिने आदेश दिएको हो। यसअघि राज कुन्द्रा अश्लील सामग्रीसम्बन्धी मुद्दामा पनि पक्राउ परेका थिए र लामो कानुनी प्रक्रिया पछि जमानतमा रिहा भएका थिए।
शिल्पा शेट्टीले भने सार्वजनिक विज्ञप्ति जारी गर्दै आफू र परिवार निर्दोष रहेको दाबी गरेकी छन्। उनले भनिन्, “हामीले कुनै गैरकानुनी काम गरेका छैनौं। कानुनी प्रक्रियामा पूरा सहकार्य गर्नेछौं।”
यो मुद्दाको थप छानबिन भइरहेकाले दुवै जनाको आर्थिक कारोबार र विदेशी सम्पर्कबारे प्रहरीले निगरानी बढाएको छ।