सुचना, समाचार र मनोरन्जन

मन्त्रालयमै जेनजी कक्ष राखेर काम गर्छौंः श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् ।

मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सिपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

‘एउटा जेनजीको सेल नै यही (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरूकै साथ र सहयोग लिएर हामीहरूले रोजगारीका लागि प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, ट्रेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरू के–के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै प्रतिनिधित्व रहने गरेर काम अगाडि बढाउँछौं,’ उनले भने ।

जेनजी सेल स्थापना गर्नका लागि आफूले निर्देशन दिएको जानकारी दिँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उनले बताए ।

उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

उनले प्रधानमन्त्रीले सुशीला कार्कीले जेनजीको भावनाअनुरूप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने बताए । आफ्नो पहिलो प्राथमिकतामा नै जेनजी हुने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.