काठमाडौँ,
नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठुलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको जानकारी गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरूको आवागमन प्रभावित हुनुका साथै मालवाहक गाडीहरू समेत चल्न नसकेको बताएका हुन् ।
सांसद गैरेले भने,‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भासिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामीण सडकहरू समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयको आवतजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’
सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गरे । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरू पास गराउन उनले माग गरे ।