काठमाडौं :
आगामी फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिप (कावाखाली ग्राउण्ड पछाडि)मा आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिलिगुडी’का लागि आधिकारिक टि–सर्ट तथा मर्चेन्डाइज सार्वजनिक गरिएको छ।
नेपाली लोक–रक व्याण्ड नेपथ्य पहिलोपटक सिलिगुडीमा प्रस्तुति दिन लागेका हुन्। कार्यक्रमका लागि तयार पारिएको टि–सर्ट र मर्चेन्डाइज दार्जिलिङका सांसद राजु विष्ट ले सार्वजनिक गरेका हुन्।
पीभीई नेटवर्क र क्लब ग्राभिटी को संयुक्त आयोजनामा हुने कार्यक्रममा सांसद विष्ट प्रमुख अतिथिका रूपमा सहभागी रहनेछन्। पीभीई नेटवर्कका संस्थापक निर्देशक विकेश कायस्थ ले कन्सर्टमा उत्तर बंगाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान र नेपालबाट हजारौं दर्शकहरूको उपस्थिति रहने अपेक्षा व्यक्त गरे।
“यो कार्यक्रम साधारण सांगीतिक प्रस्तुति मात्र नभई सीमापार सांस्कृतिक संगमका रूपमा स्थापित हुनेछ,” उनले भने, “नेपथ्यको प्रस्तुतिमार्फत सिलिगुडीलाई सीमापार सांस्कृतिक कार्यक्रमहरूको उपयुक्त गन्तव्यका रूपमा थप स्थापित गर्ने हाम्रो लक्ष्य हो।”
पीभीई नेटवर्कले गत वर्षको नोभेम्बरमा सिलिगुडी र गान्तोकमा ‘लेट्स गेट लाउड इण्डिया सिरिज’ आयोजना गरेको थियो, जहाँ गायक तथा संगीतकार सज्जनराज वैद्य ले प्रस्तुति दिएका थिए।
कायस्थका अनुसार ‘नेपथ्य लाइभ इन सिलिगुडी’का लागि टिकट बिक्री उत्साहजनक रहेको छ। आयोजकले कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारेको जनाएको छ।