सुचना, समाचार र मनोरन्जन

‘संघ हाम्रो परिवार’देखि डिजिटल रूपान्तरणसम्म : शोभा गौतम प्यानलका प्रतिबद्धता

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी प्रत्याशी शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रवद्र्धन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर  प्रतिबद्धता सार्वजनिक गरेको छ ।

आगामी भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन्।

प्यानलले संघलाई पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री तथा सबै उद्योगी–व्यवसायीको साझा र विश्वासिलो संस्थाका रूपमा विकास गर्ने जनाएको छ। सदस्यका सुझाव, गुनासा र समस्या प्रभावकारी रूपमा सम्बोधन गर्न व्यवस्थित प्रणाली विकास गर्ने तथा संघको कार्यप्रगति, आर्थिक प्रतिवेदन र वित्तीय पारदर्शितालाई संस्थागत गर्ने उसको प्रतिबद्धता छ।

गौतम प्यानलले संघका सेवाहरूलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन डिजिटल सदस्य सेवा विस्तार गर्ने जनाएको छ । स्मार्ट सदस्य परिचयपत्र, अनलाइन सेवा प्रणाली तथा सुरक्षित डिजिटल डाटाबेस निर्माण गर्ने योजना अघि सारिएको छ।

उद्योगी–व्यवसायीलाई आवश्यक कानुनी, कर तथा व्यवसायसम्बन्धी परामर्श उपलब्ध गराउन व्यवसायी सहायता तथा परामर्श डेस्क स्थापना गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ। संघका अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने, मोबाइल एप तथा डिजिटल सूचना प्रणाली विकास गर्ने योजना उसको छ।

प्यानलले पोखरालाई पर्यटनको राजधानीका रूपमा थप स्थापित गर्दै पर्यटन व्यवसायको दिगो र व्यवस्थित प्रवद्र्धनमा जोड दिएको छ । कृषि–पर्यटनलाई उद्योग, पर्यटन र स्थानीय उत्पादनसँग जोडेर नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने उसको योजना छ।

पोखरा तथा आसपासका कृषि उत्पादनको ब्रान्डिङ, बजारीकरण र मूल्य अभिवृद्धिका लागि पहल गर्ने तथा ‘मेड इन पोखरा’ अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ तथा साहसिक पर्यटनलगायत पर्यटनसँग आबद्ध व्यवसायको प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यापार, पर्यटन तथा कृषि प्रदर्शनी र मेला आयोजना गर्ने योजना प्यानलले अघि सारेको छ।

निजी क्षेत्र, स्थानीय समुदाय र सरकारबीच सहकार्य गरी कृषि, पर्यटन र व्यवसायलाई एकीकृत आर्थिक गतिविधिका रूपमा विकास गर्ने उसको लक्ष्य छ। पोखराको समग्र आर्थिक तथा व्यावसायिक विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने प्यानलको प्रतिबद्धता छ।

स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन तथा लगानी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रोत्साहन गर्ने र ठूला विकास परियोजनामा निजी क्षेत्रको सहभागिता बढाउने योजना अघि सारिएको छ ।

व्यवसायी तथा लगानीकर्ताका लागि व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत र संस्थागत पहल गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट पोखराको उद्योग, व्यापार, पर्यटन तथा पूर्वाधार विकासलाई गति दिने प्यानलले जनाएको छ ।

युवा उद्यमशीलता विकासलाई प्यानलले प्राथमिकतामा राखेको छ। स्टार्टअप प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, युवा व्यवसायीलाई तालिम, मेन्टरिङ तथा नेटवर्किङका अवसर सिर्जना गर्ने र नवप्रवर्तन तथा उद्यमशीलता प्रवद्र्धन केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

Leave A Reply

Your email address will not be published.