सुचना, समाचार र मनोरन्जन
jaar

शुभ मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो ‘सोल्टिनी’

काठमाडौं :

फिल्म ‘सोल्टिनी’को छायाङ्कन सुरु गरिएको छ। मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए।

अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै फिल्मको लागि पहिलो र महत्त्वपूर्ण शट दिए। यो चलचित्र इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ।

फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन्। सपूतले ‘भीमसेन पोखरेल र लिम्बुले दिलासा राईको मुख्य भूमिका निभाउने फिल्मको घोषणामा नै बताइएको थियो। यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो।

यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ। फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्। प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्।

ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन्। डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। फिल्मलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.