सोभित ठकुरी/पोखरा,
नेपालको वर्तमान परिवेशमा एउटा साझा गुनासो सुनिन्छ“देशमा केही भएन, देश बनेन ।” तर यो गुनासो गरिरहँदा हामीले एउटा महत्वपूर्ण प्रश्न आफैँलाई सोध्न बिर्सिरहेका छौँ कि देश बनाउने प्रक्रियामा मेरो आफ्नो भूमिका कस्तो छ ? वास्तविकता के हो भने, देश कुनै एउटा व्यक्ति वा एउटा सरकारले मात्रै जादु गरेर बनाउने कुरा होइन । यो त करोडौँ नागरिकको सामूहिक इमानदारी र आफ्नो कर्मप्रतिको निष्ठाबाट निर्माण हुने साझा संरचना हो । हामीले अब “नेपालमा केही गर्न सकिन्छ” भन्ने केवल सकारात्मक नारामा मात्र अल्झिने होइन, बरु “हामीले नै गर्नुपर्छ र मैले आफ्नै ठाउँबाट गर्नुपर्छ” भन्ने अठोटका साथ मैदानमा उत्रिनु पर्ने बेला आएको छ ।
हाम्रो देशको सबैभन्दा ठूलो समस्या भनेको आफ्नो जिम्मेवारीबाट पन्छिने र अरूलाई मात्र दोषारोपण गर्ने प्रवृत्ति हो । विशेष गरी राजनीतिलाई हेर्ने हो भने, यहाँ सिद्धान्त र विकासको बहस भन्दा पनि अर्काको अस्तित्वलाई नकार्ने र आफ्नो पार्टीका सबै गल्तीलाई ढाकछोप गर्ने चलन हाबी छ । राजनीति गर्नेहरूले जबसम्म अरूलाई गाली गरेरै दिन, महिना र वर्ष बिताउँछन्, तबसम्म देशले विकासको गति लिन सक्दैन । राजनीति भनेको त नीतिहरूको पनि राजा अर्थात् समाजलाई सही दिशा दिने माध्यम हुनुपर्ने हो । राजनीतिमा लाग्नेहरूले जबसम्म इमानदारीपूर्वक देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्दैनन्, तबसम्म व्यवस्था परिवर्तनको कुनै अर्थ रहँदैन । तर राजनीति बिग्रियो भनिरहँदा, के हामीले आफ्नो क्षेत्रमा इमानदारी देखाएका छौँ त ? यो आजको गम्भीर प्रश्न हो ।
सरकारी होस् वा निजी, जागिर गर्ने हाम्रो शैली निकै उदेकलाग्दो छ । कार्यालय समयमा कार्यस्थलमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्नुको साटो घाम तापेर समय बिताउने, अनावश्यक गफमा अल्झिने र सेवाग्राहीलाई झुलाउने प्रवृत्तिले हाम्रो कार्यसंस्कृतिलाई खोक्रो बनाएको छ । हामी तलब त समयमै खोज्छौँ, तर त्यो तलबको हकदार हुनका लागि जुन स्तरको मिहिनेत र इमानदारी चाहिन्छ, त्यसमा सधैँ चुक्छौँ । यदि देशका हरेक कर्मचारीले आफ्नो कार्यकक्षलाई आफ्नो कर्मथलो मात्र होइन, देश बनाउने इकाई मानेर पूर्ण कर्तव्य पालना गर्ने हो भने, यो देशको काँचुली फेरिन धेरै समय लाग्ने थिएन । नागरिकले सास्ती पाउनु र विकासका योजनाहरू सुस्त हुनुको पछाडि हाम्रो यही ‘समय कटाउने र काम छल्ने’ मानसिकता दोषी छ ।
अर्कोतर्फ, व्यावसायिक क्षेत्रमा लागेका व्यक्तिहरूको ध्यान पनि आफ्नो व्यवसायलाई कसरी उत्कृष्ट बनाउने भन्ने भन्दा बढी कसरी राजनीतिक पहुँच पु¥याउने भन्नेतिर मोडिएको देखिन्छ । व्यवसाय गर्ने व्यक्तिले आफ्नो व्यवसायलाई पूर्ण समय दिएर, गुणस्तर र सेवामा ध्यान दिएर त्यसलाई राष्ट्रिय अर्थतन्त्रको खम्बा बनाउनुपर्ने हो । तर विडम्बना, व्यवसायी पनि आफ्नो व्यवसाय छोडेर कुन नेताको पछि लाग्दा व्यक्तिगत लाभ हुन्छ भन्ने दाउपेचमा देखिन्छन् । जबसम्म एउटा व्यवसायीले आफ्नो कर्ममा मात्र एकाग्रता देखाउँदैन, तबसम्म देशमा उत्पादन र रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन् । हामीले आफ्नो कामलाई सानो वा ठूलो नभनी, त्यसमै डुबेर काम गर्ने संस्कारको विकास गर्नैपर्छ ।
देश बन्नका लागि कुनै चमत्कार हुनुपर्दैन । केवल राजनीति गर्नेले इमानदारीपूर्वक नीति बनाइदिए पुग्छ, जागिर खानेले आफ्नो कार्यस्थलमा कर्तव्य पूरा गरिदिए पुग्छ र व्यवसाय गर्नेले आफ्नो काममा पूर्ण समय र इमान लगानी गरिदिए पुग्छ । हामीले अरूका गल्ती औँल्याएर समय फाल्नुभन्दा आफ्ना गल्तीहरू सुधार्दै अघि बढ्नुपर्छ । आफ्नो पार्टीको अन्धभक्त भएर अरूलाई सत्तोसराप गर्दैमा वा आफ्नो काम ठगेर अरूलाई नैतिकताको पाठ सिकाउँदैमा समृद्धिको सपना पूरा हुँदैन । अबको नेपाल हामीले गफ गरेर होइन, प्रत्येक नागरिकले आफ्नो पेशा र कर्तव्यमा देखाउने ‘पूर्ण इमानदारी’ बाट मात्र बन्नेछ। त्यसैले, अरूलाई सोध्नुभन्दा पहिले आफैँलाई सोधौँ— “के मैले आज मेरो देशका लागि आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गरेँ?”
- लेखक सोभित ठकुरी पोखराको कफि घर, स्वाद घर र एब्रोड डेस्कका संचालक हुन् ।