सुचना, समाचार र मनोरन्जन

श्रावण सोमबार विशेष कार्यक्रम सहित ‘श्री शिवगोरक्ष महोत्सव’ देशभर भक्तिपूर्वक मनाइँदै

काठमाडौँ,
श्रावण महिनाको पावन अवसरमा देशभर श्रद्धा, भक्ति र आध्यात्मिक चेतनाका साथ ‘श्री शिवगोरक्ष महोत्सव २०८२’ भव्य रूपमा मनाइँदैछ। सिद्धाश्रम शक्ति केन्द्र नेपालद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यो महोत्सव यस वर्ष पनि विशेष धार्मिक कार्यक्रमहरूका साथ देशका विभिन्न भागहरूमा भक्तिपूर्वक सम्पन्न भइरहेको छ।

महोत्सव अन्तर्गत श्रावण महिनाभर प्रत्येक सोमबार बिहान ८ बजे देशभरका विभिन्न गोरक्षपीठहरू तथा जिल्ला–शाखा आश्रमहरूमा गोरक्षहवन कार्यक्रम सञ्चालन हुने जानकारी आयोजक संस्थाले दिएको छ।

निर्धारित गोरक्ष हवन कार्यक्रम तालिका अनुसार साउन ५ (पहिलो सोमबार) गोरक्षपीठ, मृगस्थली, पशुपति, काठमाडौं, साउन १२ (दोस्रो सोमबार) गोरक्षपीठ, बनकाली, पशुपति, काठमाडौं तथा सैथु, ललितपुर, साउन १९ (तेस्रो सोमबार) गोरक्षपीठ, थापाथली, काठमाडौं, साउन २६ (चौथो सोमबार) गोरक्षपीठ, बसन्तपुर, काठमाडौ लगायत ठाउँमा हुनेछ  ।

देशभर विविध स्थलमा सञ्चालन भइरहेका कार्यक्रमहरू

सिद्धाश्रम शक्ति केन्द्र, कास्कीको आयोजनामा पचभैया गोरक्षपीठ, कास्कीमा पनि श्रावण महिनाभर प्रत्येक सोमबार विशेष हवन तथा रोट अर्पण कार्यक्रम सञ्चालन हुने भएको छ।

त्यसैगरी, चितवनको पुलचोकस्थित दुर्गा मन्दिरअगाडि रहेको सिद्धाश्रम शक्ति केन्द्र र गौरिगञ्जस्थित आश्रममा बिहानै गोरक्षहवन कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

भक्तपुरस्थित सिद्धाश्रम शक्ति केन्द्र आश्रमद्वारा भक्तपुरका विभिन्न गोरक्ष शक्ति पीठहरूमा मन्त्र हवन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यसै क्रममा, सिन्धुपाल्चोकको सुकुटेमा अवस्थित सिद्धाश्रम शक्ति केन्द्रमा साउन ५ गते (पहिलो सोमबार) विशेष मन्त्र हवन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

नियमित भजन–कीर्तन तथा मन्त्र जप कार्यक्रमस महोत्सव अवधिभर प्रत्येक श्रावण सोमबार दिउँसो ३:३० बजे सिद्धाश्रम शक्ति केन्द्र अन्तर्गतका सबै आश्रमहरूमा भजन–कीर्तन तथा गोरक्ष सुरक्षा मन्त्रको सामूहिक जप कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेको आयोजक संस्था सिद्धाश्रम शक्ति केन्द्र नेपालले जनाएको छ।

सिद्धाश्रम शक्ति केन्द्र नेपालले सम्पूर्ण श्रद्धालु भक्तजनहरू, साधकहरू तथा गोरक्ष परम्परामा आस्था राख्ने महानुभावहरूलाई यस आध्यात्मिक अवसरमा सहभागी भई पुण्य लाभ लिन र आत्मिक उन्नतिको मार्गमा अग्रसर हुन सादर आमन्त्रण गरेको छ।

Leave A Reply

Your email address will not be published.