सुचना, समाचार र मनोरन्जन

स्ट्रिट फेस्टिवलको तयारी पूरा, होटल तथा रेष्टुरेन्टको दररेटमा अनुगमन गरिने

सन्तोष बस्याल
पोखरा ।

२५ औं संस्करणको पोखरा सडक महोत्सव (स्ट्रिट फेस्टिवल) को सम्पूर्ण तयारी पूरा भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) को आयोजनामा पुस १२ देखि १६ सम्म हुने सडक महोत्सवको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । सडक महोत्सव हुँदा लेकसाइडका होटल तथा रेस्टुरेन्टहरुको दर आवश्यकता भन्दा बढी हुन्छ । अप्रत्यासित रुपमा बढाइएको रेटले महोत्सव अवलोकन गर्न आउनेहरु मर्कामा परिरहेको गुनासो यसअघिको सडक महोत्सवबाट पनि आइरहेको हो । यसपाली भने होटल तथा रेस्टुरेन्टको दररेट हेर्ने गरी अनुगमन टोली समेत खटाइएको रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले जानकारी गराए ।

‘हरेक वर्ष सडक महोत्सवको आयोजना गर्दा अक्सर सुन्ने गुनासो नै होटल तथा रेस्टुरेन्टको दररेट महङ्गो भयो भन्ने नै हो । अघिपछि १ हजार ५ सय रुपैयाँमा दिने रुम सडक महोत्सवका बेला ५ हजार भन्ने गरिन्छ । रेष्टुरेन्टको मेन्युमा समेत हेरफेर गरिन्छ । यसले सर्वसाधारण मर्कामा परेका छन् । हामीले बुझेका छौं । फलस्वरुप अहिले त्यस्तो नहोस् भन्दै अनुगमन टोली खटाइनेछ ।”, उनले भने ।

सुरक्षा व्यवस्थापनलाई समेत संवेदनशील ढंगले अगाडि बढाइएको भनाई उनको छ । रमाइलोका लागि सडक महोत्सव अवलोकन गर्न आइरहँदा अप्रिय घटना कसैले बेहोर्ननपरोस् भन्दै सुरक्षाको पाटोलाई समेत कडाई गरिएको छ । महोत्सवको सम्पूर्ण एरियामा सिसीटिभी जडान गरिएको छ । सुरक्षाको विषयमा उपसमिति नै गठन गरि परिचालन गरिएको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाइने महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिने आयोजकको भनाइ छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

Leave A Reply

Your email address will not be published.