पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि सुदीप प्रधानाङ्गले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
हाल संघका उपमहासचिव रहेका प्रधानाङ्गले दुई कार्यकाल कार्यसमिति सदस्य र वर्तमान कार्यकालमा उपमहासचिवका रूपमा गरी करिब ६ वर्षदेखि संघमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
महासचिव पदका उम्मेदवार प्रधानाङ्गले आफ्नो कार्यकालमा व्यवसायीहरूको विश्वास र मतको सम्मान गर्दै संघको हितमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन्। आगामी दिनमा पनि व्यवसायीहरूको हकहितको संरक्षण, संस्थागत सुदृढीकरण तथा संघको प्रभावकारी भूमिकाका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
‘विगतमा जस्तै आगामी दिनमा पनि व्यवसायीहरूको हकहितका लागि सधैं तत्पर रहनेछु। त्यसैले पुनः एकपटक सम्पूर्ण व्यवसायी साथीहरूको अमूल्य मतको अपेक्षा गरेको छु,’ उनले भने।
प्रधानाङ्ग प्रो बिरौटा हार्डवेयर एन्ड सेनेटरीका सञ्चालकसमेत हुन्। उनले आफ्नो अनुभव र संस्थागत निरन्तरताका आधारमा महासचिव पदका लागि उम्मेदवारी दिएको बताएका छन्।