इलाम :
नेपाली फिल्म ‘मैझारो’को छायांकन इलामबाट सुरु गरिएको छ। साउन १ गतेबाट सुरु गरिएको फिल्मको निर्देशन कलाकार विल्सन विक्रम राईले गरेका छन्। यो उनको पहिलो निर्देशन रहेको छ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीको अभिनय रहनेछ। फिल्मको कथा, पटकथा तथा निर्देशन राईले आफैं गरेका हुन्।
निर्माण टोलीका अनुसार फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित हुनेछ। फिल्मको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानहरूमा गरिनेछ।
संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले गर्नेछन्। गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतका गायकगायिकाको स्वर समावेश हुने जनाइएको छ। छायांकन सौरभ लामाले गरिरहेका छन्।

यसअघि तक्मे प्रोडक्सनले हास्य तथा सांगीतिक सामग्री निर्माण गर्दै आएको थियो। ‘मैझारो’ मार्फत कम्पनीले फिचर फिल्म निर्माणतर्फ पाइला चालेको छ।