सुचना, समाचार र मनोरन्जन

‘तल्लो मोदी–नयाँ मोदी’ प्रसारण लाइन निर्माण शुरू

पर्वत,

ऊर्जा नदीका रूपमा विकास भएको पर्वतको मोदीखोलामा उत्पादित जलविद्युत‍्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण शुरू भएको छ ।

कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेशनसम्म नयाँ प्रसारण लाइन निर्माण शुरू भएको हो । प्रसारण लाइनका लागि अहिले जग्गा अधिग्रहण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण भइसकेको अयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन झन्डै साढे आठ किलोमिटर लम्बाइको हुनेछ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेशनसम्मको प्रसारण लाइन झन्डै सातरआठ महिना अगाडि निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उहाँले बताउनुभयो । सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ ।

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ । ‘अहिले कुश्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यू मोदीमा आएको छ । अब यो न्यू मोदी र कुश्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्छ’, आयोजना प्रमुख अग्रवालले भन्नुभयो, ‘यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत‍्को आपूर्ति दुरुस्तै रहन्छ ।’

यो प्रसारण लाइन एक सय ३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिनुभयो । आयोजनाको काम सम्पन्न गर्न ३५ करोडमा ठेक्का सम्झौता भएको भए पनि जग्गा व्यवस्थापनसहितका अन्य कामहरू गर्दा झन्डै ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेशन निर्माणका लागि २६ वटा कित्ता जग्गा अधिग्रहण गरी एक करोड पाँच लाख रुपैयाँ मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीहरूलाई सूचना जारी गरेको छ ।

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका–५ बाजुङ तथा कुश्मा नगरपालिका–३ दुर्लुङ, कुश्मा नगरपालिका–७ खरेहा तथा वडा नम्बर ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मुआब्जा प्राप्त गर्नेहरूलाई मुआब्जा बुझ्नका लागि आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

पर्वतको मोदीखोलाबाट अहिले चार वटा विद्युत् आयोजनामार्फत झन्डै ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने केही आयोजनाहरू निर्माण हुने चरणमा छन् ।

Leave A Reply

Your email address will not be published.