काठमाडौँ,
केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । आज काठमाडौँ को अधिकतम तापक्रम ३०–३२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो पनि काठमाडौँको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ ।
प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको छ ।
आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मधेश र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । काठमाडौँ उपत्यकामा हिजोजस्तै छिटपुट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।