
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
- विक्की श्रद्धाको ‘ककाकिकी’को प्रिमियरमा चलचित्रकर्मीले गरे प्रशंसा
- नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड
- घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
- फेरी मान्यता पायो गगन सभापति रहेको कांग्रेसले
- फेवा किङ्स कप भलिबलः एपिएफद्वारा पुलिस पराजित
- १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्यो
- फेवा किङ्स कपः पहिलो खेलमा गण्डकी प्रदेश विजयी
- नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक: अर्थमन्त्री वाग्ले
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि हुने
काठमाडौँ,
सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक रु ४३ हजार ६६९ बाट बढेर रु ४८ हजार ५८ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक रु ३४ हजार ७३० बाट रु ३८ हजार २०३ कायम भएको छ ।
यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु पाँच हजार थप गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार इसिडी सहजकर्ताको मासिक पारिश्रमिक रु १२ हजारबाट रु १७ हजार, विद्यालय सहयोगीको रु १० हजारबाट रु १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको रु १५ हजारबाट रु २० हजार पुगेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालयमा खट्ने विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्न पहल गरिएको बताउनुभयो । उहाँहरूको रोजगारी सुरक्षा र पेसागत वृद्धि तथा समग्र वृत्तिविकासमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत इसिडी सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भई शैक्षिक गुणस्तर सुधारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक रु चार अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० थप दायित्व सिर्जना हुनेछ ।