कास्की : अन्नपूर्ण गाउँपालिका ९ तिखेढुंगास्थित श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई कला शिक्षक किमको पहलमा खेलकुद पोसाक वितरण गरिएको छ ।
कोरियन कलाकार, लेखक एवम् अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका कला शिक्षक कु ह्युन किम र उनका साथीहरूको २ लाख बराबरको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत १ सय १५ विद्यार्थी र १९ जना शिक्षकहरुलाई खेलकुद पोसाक प्रदान गरिएको छ । हरेक विद्यार्थीलाई एक सेट ट्रयाकसुटका साथ टिसर्ट वितरण गरिएको हो ।
प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सी.ले आफ्ना पितृहरुको सम्झनामा सप्ताह र पुराण लगाएको भन्दा पनि ठूलो पुण्यको काम प्रतिष्ठानका संस्थापकहरूले गरेको बताए । गाउँको विद्यालयका विद्यार्थी र शिक्षकले यस्तो सहयोग पाउनु प्रशंसनीय भएको जनाए ।
अध्यक्ष के.सी.ले भने, “हामी यी साना बाबुनानीको मुहारमा खुसी र सुन्दर भविष्यको खोजी गरिरहेका छौँ । अब कुनै पनि बहानामा शैक्षिक प्रगति रोकिनु हुँदैन । पोसाक वितरणको उद्देश्य पनि यही हो । बिहानको चिसोमा थरथर काम्दै आएको विद्यार्थीले कक्षामा उत्कृष्ट सिकाई नगर्न सक्छ भन्ने कुरा महसुस गरी यो न्यानो पोसाक किम सरको आर्थिक सहयोगमा वितरण गरेको छ, जुन उदाहरणीय छ ।”

प्रतिष्ठानका संरक्षक तीर्थराज ढकालले प्रतिष्ठानले विगतदेखि वर्तमानसम्म शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हरतरहका कार्य गर्दै आएको र भविष्यमा समेत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने, “राज्यले एकसेट पुस्तक र दुइचार सय छात्रवृत्ति दिँदैमा पूर्ण निःशुल्क शिक्षा दिएको भन्न मिल्दैन । हाम्रो समुदायमा अझैपनि झोला र कापी किन्न नसक्ने विद्यार्थीको सङ्ख्या धेरै छ ।”
९ नम्बर वडा अध्यक्ष रमेश गुरुङले आभार मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङले स्वागत र विद्यार्थी अस्मीता बि.क.ले धन्यबाद व्यक्त गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रेमनारायण ढकालको अध्यक्षता र शिक्षक कीर्तिराज ढकालको सञ्चालनमा भएको थियो ।
कोरियन कलाकार तथा कला शिक्षक किमको पहलमा कोरियन र अमेरिकनको आर्थिक सहयोगमा गत महिना विद्यालयमा अध्ययनरत दस जना जेहन्दार विद्यार्थीका अभिभावकलाई १ लाख बराबरको एक एक वटा माऊ बाख्रा वितरण गरिएको छ ।