सुचना, समाचार र मनोरन्जन
Pdms

“मौलिक तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक, विकृतिविरुद्ध सशक्त सन्देश”

काठमाडौं : गायिका कविता अर्यालको नयाँ तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आयोजित एक भव्य समारोहबीच नारी सशक्तिकरणको सन्देश बोकेको यस गीतको विमोचन गरिएको हो।

उक्त कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षता र विशिष्ट गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्य रहेको थियो।

विमोचन समारोहमा पूर्व अध्यक्ष बद्री पंगेनी, बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी, संस्थापक अध्यक्ष गोविन्द गिरी, पूर्व अध्यक्ष हरिबल्लभ नेपाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले पछिल्लो समय तीजमा भड्किला गीतहरूले चर्चा पाइरहेका बेला मौलिक गीत प्रस्तुत हुनु सकारात्मक संकेत भएको बताए। उनले भने, “सांगीतिक विकृति रोक्न एक्लो व्यक्ति वा संस्थाले पुग्दैन; सबै कलाकारले आफैं सेन्सर गर्न आवश्यक छ।”

विशिष्ट अतिथि गायक पशुपति शर्माले आजका श्रीमतीहरूलाई केवल घरभित्र सीमित नराखी, उनीहरूको आकांक्षा र करिअरको सम्मान गर्नुपर्ने बताए। श्रीमानहरूले उत्प्रेरक बन्नुपर्नेमा उनले जोड दिए।

गायक बद्री पंगेनीले गीत-संगीतमा देखिएको विकृतिका कारण यस क्षेत्र धुमिल बन्ने खतरा देखिएको उल्लेख गर्दै चलचित्रजस्तै सेन्सरसिपको आवश्यकता औंल्याए। कविता अर्यालको मौलिकता र सिर्जनशीलता प्रशंसा गर्दै उनले गीतले तीजको मर्म समेटेको बताए।

संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्था स्थापना देखि हालसम्मको यात्रा र चुनौतीबारे चर्चा गर्दै, व्यावसायिकता बढेसँगै मौलिकतामा कमी देखिएको जनाए। यसले विकृति ल्याउने भएकाले कलाकारले नै आत्मसेन्सर गर्नु पर्ने धारणा राखे।

गीतका निर्देशक शंकर बिसीले मौलिकताको प्रवर्द्धन सबैको दायित्व भएको बताए। गीतकार तथा संगीतकार रमेश परियारले यस टिमसँग काम गर्न पाउँदा गौरव महसुस भएको बताए।

गायिका कविता अर्यालले आफू सधैं मौलिकतामा केन्द्रित रहँदै सिर्जना गर्दै आएको बताउँदै, यस्तो गीत राष्ट्रिय लोक सञ्चारकर्मी नेपालजस्तो संस्था मार्फत सार्वजनिक गर्नु गर्वको कुरा भएको बताइन्। कलाकार बन्ने हुटहुटी पुरा गरिदिएकोमा गायक बद्री पंगेनीलाई उनले विशेष धन्यवाद दिइन्।

कार्यक्रमका सभापति तथा अध्यक्ष चन्द्रमणि गौतमले तीज गीतमा पहिले चेलीका वेदना झल्किने गरेको तर अहिले उत्ताउला र भड्किला गीतहरू आउने क्रम बढेको भन्दै स्रष्टाहरूलाई यस्ता प्रवृत्तिबाट टाढा रहन आग्रह गरे। मौलिक गीत-संगीत बिगार्ने सामग्रीप्रति आफू र संस्था चुप बस्न नसक्ने भन्दै उनले साइबर ब्यूरो र गृह मन्त्रालयसम्म पुग्नुपरेको जानकारी पनि दिए।

समारोहमा महिला विभाग प्रमुख सविता पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सचिव कमल सरगम चौलागाईंले गरेका थिए।

गीत ‘श्रीमानज्यू’ गायिकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कविता अर्यालको स्वर, रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा कृष्ण केसीको संगीत संयोजन, खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ, शंकर बिसीको निर्देशन र कोरियोग्राफी, दुर्गा पौडेलको छायाँकन, र नविन घर्तीको सम्पादन रहेको छ। भिडियोमा मोडल लोसिना लामिछाने देखिएकी छिन्।

त्यसै समारोहमा संस्थाका उपाध्यक्ष हरि दुलालको जन्मदिनको अवसरमा केक काटेर खुशीयाली मनाइएको थियो। उनले कल्याणकारी कोषका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए।

Leave A Reply

Your email address will not be published.