पोखरा,
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला नेतृत्वलाई पर्यटन उद्योगको मुख्य शक्तिका रूपमा स्थापित गर्दै दिगो पर्यटन विकासका लागि सरकारी, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच अझ बलियो सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।
संस्थाको ८औँ वार्षिक साधारण सभाले महिला सशक्तीकरण, पर्यटन व्यवसाय विस्तार, संस्थागत क्षमता अभिवृद्धि र पर्यटन प्रवर्द्धनलाई आगामी कार्यदिशाका रूपमा अघि सारेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन उद्योगलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन महानगर प्रतिबद्ध रहेको बताउँदै महिला पर्यटन व्यवसायीको भूमिका अझ प्रभावकारी बन्दै गएको उल्लेख गरे। उनले टेवानजस्ता संस्थाले महिला नेतृत्व विकाससँगै पर्यटन क्षेत्रलाई बलियो बनाउन उल्लेखनीय योगदान दिएको बताए।
नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटनको दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए। महिला नेतृत्वले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा र प्रभावकारी प्रवर्द्धनमा टेवानले अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष शोभा न्यौपाने पाण्डेले चुनौतीपूर्ण परिस्थितिका बीच पनि टेवानले महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै क्षमता विकास र पर्यटन प्रवर्द्धनमा निरन्तर काम गरेको बताइन्। आगामी दिनमा महिला नेतृत्व विकासलाई थप प्राथमिकता दिँदै पर्यटन उद्योगको समृद्धिका लागि परिणाममुखी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन्।
महासचिव शोभा अधिकारी पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा महिला क्षमता अभिवृद्धि, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, सदस्य विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले गरेका गतिविधि समेटिएका थिए। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महिला व्यवसायीको सक्रिय सहभागिता आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
साधारण सभाले कोषाध्यक्ष शारदा लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछाने, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल तथा टेवानका संस्थापक अध्यक्ष लक्ष्मी कार्की क्षेत्रीले महिला उद्यमशीलता र पर्यटन विकासलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
उक्त अवसरमा नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा नियुक्त सन्तोष पोखरेललाई टेवानले सम्मान गरेको थियो भने नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरिएको थियो।
साधारण सभाको अन्त्यमा महिला नेतृत्व सुदृढीकरण, पर्यटन उद्योगको दिगो विकास र संस्थागत सक्षमीकरणका लागि साझा प्रतिबद्धता दोहोर्याइएको थियो।