सुचना, समाचार र मनोरन्जन

पोउवा संघको अध्यक्षमा बलराम आचार्यको उम्मेदवारी घोषणा

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि संघका वर्तमान उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

तीन दशकभन्दा लामो व्यावसायिक अनुभव र एक दशकभन्दा बढी समयदेखि पोखरा उद्योग वाणिज्य संघमा सक्रिय भूमिका निर्वाह गर्दै आएका आचार्य हाल संघको उपाध्यक्षका रूपमा कार्यरत छन्। सहकर्मी व्यवसायीहरूको आग्रह, आफ्नो अनुभव तथा संस्थाप्रतिको प्रतिबद्धतालाई आधार बनाएर अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन्।

आचार्यले संस्थागत परम्परा र वरिष्ठताका आधारमा नेतृत्वमा पुग्ने आफ्नो स्वाभाविक अवसर रहेको दाबी गर्दै संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले लामो समयदेखि पोखराको व्यावसायिक तथा संस्थागत विकासमा सक्रिय रहँदै आएका कारण स्थानीय व्यवसायीका समस्या, चुनौती र सम्भावनाबारे आफू जानकार रहेको उल्लेख गरे। अध्यक्षमा निर्वाचित भए व्यवसायीहरूको हकहितको संरक्षण, स्थानीय व्यापारको प्रवर्द्धन तथा संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।

‘विगतका महाधिवेशनमा जस्तै यसपटक पनि सम्पूर्ण व्यवसायी साथीहरूको साथ, सहयोग, सद्भाव र अमूल्य मत प्राप्त हुनेमा म विश्वस्त छु,’ आचार्यले भने।

पोखराको निजी क्षेत्रको अग्रणी संस्थाका रूपमा परिचित पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि आचार्यको उम्मेदवारी घोषणासँगै व्यावसायिक वृत्तमा निर्वाचनको माहोल थप सक्रिय बनेको छ।

Leave A Reply

Your email address will not be published.