सुचना, समाचार र मनोरन्जन

टेवान पोखराको तीज महोत्सव स्थगित, बाढीपिडितको राहतमा रकम छुट्याइयो

पोखरा,

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन उद्यमी महिला संघ नेपाल (टेवान) ले तीज महोत्सव स्थगित गर्ने निर्णय गरेको छ।

लेकसाइडस्थित बाराहीघाटमा आयोजना गर्ने तयारी गरिएको ‘पर्यटन र संस्कृति, तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला–२०८३’ हाललाई स्थगित गरिएको टेवान पोखराकी अध्यक्ष शोभा पाण्डेले जानकारी दिइन्।

उनका अनुसार विपद्को यस्तो संवेदनशील अवस्थामा उत्सव मनाउनुभन्दा पीडित नागरिकलाई सहयोग गर्नु उचित ठानेर कार्यक्रम स्थगित गरिएको हो।

त्यसैगरी, भदौ १४ गते आयोजना गर्ने भनिएको तीजको दरखाने कार्यक्रमसमेत रद्द गरी त्यसका लागि छुट्याइएको रकम विपद् प्रभावित नागरिकको सहयोगमा खर्च गर्ने निर्णय टेवानले गरेको छ।

विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले टेवानले प्रधानमन्त्री राहत कोषमा रु. १ लाख १ हजार १ सय ११ सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष पाण्डेले बताइन्।

अध्यक्ष पाण्डेले विपद्को समयमा उत्सवभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले भनिन्, “अहिले उत्सव मनाउनेभन्दा पीडामा रहेका नागरिकको हात समात्नु ठूलो धर्म र जिम्मेवारी हो। तीज फेरि आउँछ, महोत्सव फेरि गर्न सकिन्छ; तर विपद्को घडीमा आवश्यक परेको साथ आजै दिनुपर्छ।”

Leave A Reply

Your email address will not be published.