सुचना, समाचार र मनोरन्जन

थाइल्यान्डमा ५१ स्थानमा हिंसा

 

थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट, आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक गरेका छन् । उत्तरमा बाढीको सङ्कटबीच दक्षिणमा सुरक्षा अवस्था बिग्रिएपछि उहाँले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् ।

 

नाराथिवाट, पट्टानी र यालामा भएका घटनामा तीन जना सर्वसाधारण घाइते भएका छन् । अधिकांश घटनामा साना बम विस्फोट, आगजनी तथा सम्पत्तिमा क्षति पुर्‍याइएको थियो । पट्टानीस्थित ७–इलेभेन पसलमा भएको आगजनी र नाराथिवाटमा रेलमार्गमा गरिएको बम विस्फोट प्रमुख घटनामा परेका छन् । रेलमार्गमा क्षति पुगेपछि स्थानीय तथा लामो दूरीका रेल सेवा प्रभावित भएका छन् ।

 

घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । यद्यपि, दक्षिणी थाइल्यान्डमा सक्रिय विद्रोही समूह बारिसन रिभोलुसी नेसनल मेलायु पटानी (बीआरएन) माथि यस्ता आक्रमणको आशङ्का गरिँदै आएको छ । बीआरएनले मुस्लिम बहुल दक्षिणी प्रान्तमा बढी स्वायत्तताको माग गर्दै आएको छ र थाई सरकारसँग शान्तिवार्ता पनि गर्दै आएको छ ।

 

नाराथिवाट, पट्टानी र याला थाइल्यान्डका मुस्लिम बहुल दक्षिणी प्रान्त हुन् । त्यहाँको मुस्लिम समुदायले लामो समयदेखि आफूहरूलाई विभेद गरिएको गुनासो गर्दै आएको छ । पृथकतावादी आन्दोलन दशकौँदेखि सक्रिय भए पनि सन् २००४ पछि हिंसा तीव्र भएको थियो । ‘डिप साउथ वाच’ का अनुसार पछिल्ला २२ वर्षमा यस क्षेत्रको हिंसामा सात हजार ८३७ जनाको मृत्यु भएको छ ।

 

गत जुलाईमा नाराथिवाटको सुरक्षा चौकीमा भएको आक्रमणमा पाँच अर्धसैनिकको मृत्यु भएको थियो भने १० वर्षीय बालकसहित छ जना सर्वसाधारण घाइते भएका थिए ।

 

स्वतन्त्र सुरक्षा विश्लेषक डन पठानका अनुसार बीआरएनले सरकारसँगको वार्तामा आफ्नो प्रभाव बढाउन हिंसात्मक गतिविधि गर्ने गरेको छ । पछिल्ला घटनामा ठूलो सङ्ख्यामा मानिसको हत्या गर्नेभन्दा आफ्नो क्षमता प्रदर्शन गर्दै सरकारलाई दबाब दिने उद्देश्य देखिएको उgको विश्लेषण छ ।

 

प्रधानमन्त्री अनुतिनले सुरक्षा बैठकपछि बाढी प्रभावित उत्तरी नान प्रान्तको निरीक्षण गरेका थिए । दक्षिणी क्षेत्रमा भएको समन्वित हिंसाले शान्तिवार्ताका बीच पनि सुरक्षा चुनौती कायमै रहेको देखाएको छ ।

Leave A Reply

Your email address will not be published.