काठमाडौँ :
नेपालकै पहिलो इम्प्रभ (तात्कालिक अभिनयमा आधारित) कमेडी कार्यक्रम ‘फनदुईस्स शो’ शनिबारबाट ओएसआर रियालिटी मार्फत औपचारिक रूपमा प्रसारण सुरु भएको छ। यो कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुने जनाइएको छ।
हिल्स एन्ड होराइजन फिल्म्स प्रालिले निर्माण गरेको शोको निर्देशन ‘रियालिटी शो कमेडी च्याम्पियन’ बाट परिचित कमेडियन कैलाश कार्कीले गरेका छन्। कार्यक्रमको होस्टका रूपमा अर्का चर्चित कमेडियन सन्तोष थापा प्रस्तुत छन्।
कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ खेलहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।
शो तीन चरण — सिल्भर, गोल्ड र डायमण्ड — मा विभाजन गरिएको छ। प्रत्येक चरणमा छ–छ वटा एपिसोड रहनेछन् भने एलिमिनेशन र वाइल्डकार्ड प्रणाली पनि लागू गरिएको छ।
कुल २० एपिसोड रहने यस कार्यक्रमको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ। विजेताले नगदसहित आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्। निर्माताहरूका अनुसार ‘फनदुईस्स शो’ नेपाली टेलिभिजन इतिहासकै पहिलो र सबैभन्दा ठूलो इम्प्रभ कमेडी कार्यक्रमका रूपमा सुरु भएको हो।