सुचना, समाचार र मनोरन्जन

‘द रेड सुटकेस’हेरेपछि श्रम मन्त्री अर्यालले भने,‘वैदेशिक रोजगारको अन्त्यको क्रान्ति हो’

काठमाडौँ :

नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन्। यो चलचित्र देशको चार दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको छ । चलचित्र शुक्रबार दोश्रो सातामा पनि प्रदर्शन भइरहेको छ।

यो चलचित्रले रिलिजबाटै समाजका लब्ध प्रतिष्ठित दर्शकलाई हलसम्म डोर्याइरहेको छ। यसै क्रममा केही दिनअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्राईले चलचित्र हेर्दै चलचित्रको कथ्य शैलीको मुक्त कण्ठले प्रशंसा गरेका थिए । यस्तै हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘द रेड सुटकेस’ हेरे।

मन्त्री अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्रकर्मी असिम शाह र पार्टीका महामन्त्री मुकुल ढकालसँग चलचित्र हेरेका हुन् । उनले चलचित्रको सुरुवात सुस्त रहे पनि सकिँदासम्म भावुक बनाएको बताए । चलचित्रले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि क्रान्तिको सुरुवात गरेको प्रतिक्रिया मन्त्री अर्यालले दिएका छन् ।

‘चलचित्रमा मैले मुलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ उनले भने, ‘ संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको पनि नेतृत्वमा छु । चलचित्रले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’

उनले चलचित्रलाई एक शब्दमा अभिव्यक्त गर्दा चाहिँ यो क्रान्तिको सुरुवात गर्ने र सम्पूर्ण नीति निर्माणको तहमा बस्ने व्यक्तिले हेर्नुपर्ने चलचित्र बनेको बताए।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकालले पनि चलचित्रले अनौठो शैलीमा देशको समस्यालाई अभिव्यक्त गरेको प्रतिक्रिया दिएका थिए ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रले उत्कृष्ट समीक्षाहरु पाइरहेको छ । चलचित्रले पाएका दर्शक र समीक्षाबाट आफूहरु सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताएका छन्। आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.