सुचना, समाचार र मनोरन्जन

रिलिजअघि नै ९ करोड कमाइ, ‘धुरन्धर : द रिभेन्ज’ को बक्सअफिस धमाका

मुम्बई :

धुरन्धर : द रिभेन्ज ले भारतीय बक्सअफिसमा अग्रिम टिकट बिक्रीमा नयाँ कीर्तिमान बनाएको छ। फिल्मले ‘पेड प्रिभ्यु’ प्रदर्शनका लागि करिब २ लाख टिकट बिक्री गर्दै झण्डै ९ करोड भारु नेट आम्दानी गरेको भारतीय मिडियाले जनाएका छन्।

भारतिय मिडिया फाइनान्सियल एक्प्रेसका अनुसार अग्रिम टिकट बिक्रीमध्ये ठूलो हिस्सा राष्ट्रिय सिनेमा चेन PVR INOXCinepolis बाट आएको छ। यी दुई चेनबाट मात्रै करिब १ लाख ४१ हजार टिकट बिक्री भएका छन्, जसले कुल आम्दानीको झण्डै ८० प्रतिशत हिस्सा ओगटेको बताइएको छ।

रणवीर सिंह अभिनित यस फिल्मले बलिउडमा सबैभन्दा धेरै पेड प्रिभ्यु आम्दानी गर्ने फिल्मको नयाँ कीर्तिमान पनि बनाएको छ। यसअघि यो रेकर्ड स्त्री २ को नाममा थियो, जसले प्रिभ्यु प्रदर्शनबाट करिब ८.७५ करोड भारु नेट कमाएको थियो।

रिलिज हुन अझै करिब १० दिन बाँकी रहँदै केवल दुई दिनको अग्रिम टिकट बिक्रीबाटै उक्त उपलब्धि हासिल भएको हो। यसअघि पेड प्रिभ्यु आम्दानीमा शीर्ष स्थान They Call Him OG को नाममा रहेको बताइन्छ, जसले करिब २६ करोड भारु नेट कमाएको थियो।

बलिउडमा सन् २००८ मा रिलिज भएको गजनीपछि पेड प्रिभ्युको रेकर्ड बनाउने क्रम तीव्र भएको देखिन्छ। रिलिज हुन अझै १० दिन बाँकी रहेकाले पेड प्रिभ्युबाट मात्र करिब २० करोड भारु नेट, सम्भवतः त्योभन्दा बढी आम्दानी पुग्न सक्ने अनुमान गरिएको छ। प्रिभ्यु प्रदर्शनको कुल सम्भावित क्षमता करिब ५५ करोड भारु नेट रहेको बताइन्छ, जुन बढेर ६५ करोड भारुभन्दा माथि पुग्न सक्ने विश्लेषकहरूको भनाइ छ। यस्तो अवस्थामा प्रिभ्युबाट मात्र ३० करोड भारुभन्दा बढी आम्दानी हुन सक्ने आकलन गरिएको छ।

सप्ताहन्तका बाँकी दिनका लागि अग्रिम टिकट बिक्री बुधबारदेखि खुल्ने अपेक्षा गरिएको छ। यद्यपि, धेरैजसो सिनेमाघरले तोकिएको समयभन्दा अघि नै टिकट बिक्री सुरु गर्ने चलन भएकाले यहाँ पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.