मुम्बई :
बलिउड अभिनेता टाइगर श्राफ अभिनीत नयाँ एक्सन फिल्म ‘बागी ४’ आगामी ५ सेप्टेम्बर २०२५ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। फिल्ममा टाइगर श्राफसँगै अभिनेत्री सोनम बाजवा र मिस युनिभर्स २०२१ विजेता हरनाज संधु मुख्य भूमिकामा छन्।
फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ, जसले दर्शकहरूबीच उच्च उत्साह सिर्जना गरेको छ। ट्रेलरमा देखिएको उच्च स्तरको स्टन्ट, भीषण द्वन्द्व दृश्य र ग्राफिक्सले फिल्मप्रति आशा बढाएको छ।
फिल्म प्रदर्शनपछि ओटीटी (Over-the-Top) प्लेटफर्ममार्फत डिजिटल रिलिज गर्ने तयारी पनि गरिएको छ। तर, कुन प्लेटफर्ममा फिल्म आउने हो भन्ने विषयमा निर्माण पक्षले हालसम्म औपचारिक जानकारी दिएको छैन।
‘बागी’ शृङ्खलाको चौथो संस्करणको रूपमा निर्माण भएको यो फिल्मलाई सशक्त एक्सन र देशभक्तिपूर्ण भावनाले भरिएको बताइएको छ। यसअघि ‘बागी’ फ्रेन्चाइजका तीन भागले व्यावसायिक रूपमा सफलता हासिल गरेका थिए, जसले टाइगर श्राफलाई बलिउडका प्रमुख एक्सन हिरोको रूपमा स्थापित गरेको थियो।
फिल्मको निर्माण नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट र निर्देशन अहमद खानले गरेका छन्। ‘बागी ४’ ले टाइगर श्रॉफको करिअरमा अर्को ठूलो मोड ल्याउने अपेक्षा गरिएको छ।
