सुचना, समाचार र मनोरन्जन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ । नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको सङ्ख्या घटेको पाइएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको सङ्ख्या एक सय ८४ रहेको पाइएको छ । गत वर्ष गरिएको गणनामा तोपचराको सङ्ख्या दुई सय १३ रहेको थियो । “घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन् ।”

उहाँका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन् । संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन् । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ । सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्”, उनले भने।

अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उहाँको भनाइ छ । निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको सङ्ख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउनुहुन्छ । निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउछन।

उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन् । सुनौलो तोपचरा विश्वमै दुर्लभ सङ्कटापन्न अवस्थामा रहेको छ ।

यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताए ।

“रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ”, उनले भने, “तोपचरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । त्यसपछि निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । निकुञ्जमा किसानको साथीका रूपमा रहेको सुनौलो तोपचराले कीराफट्याङ्ग्रा खान मन पराउँछ ।

निकुञ्जका सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ । निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको छ ।

निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोपचराको गणनाको कार्य गरेका हुन् । निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोपचरा गणनाको कार्य गरिएको छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोपचरासँगै चार सय बढी प्रजातिका चरा पाइन्छन् ।

Leave A Reply

Your email address will not be published.