काठमाडौं : दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन्।
त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्।
लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोक्का प्रक्रिया अघि बढिसकेको छ। उक्त जरिवानावापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोक्का हुने प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
जरिवानावापतको रकम पूर्णरूपमा बुझाएपछि मात्रै ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवानावापतको रकम राज्यकोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। जरिवानावापतको रकम जम्मा गर्न बाँकीलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्य सुरु गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार यो कदम जरिवानावापतको रकम राज्यकोषमा जम्मा गर्ने अभियानलाई प्रभावकारी बनाउनका साथै ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सडक अनुशासन कायम गर्न लागू गरिएको जनाइएको छ।
ट्राफिक नियम उल्लङ्घन गरी जरिवानावापत रकम राज्य कोषलाई नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पूर्णपालना गर्न चालकलाई अनुरोध गरेको छ।