पोखरा,
फेवातालमा प्लास्टिकजन्य तथा अन्य तैरने फोहोर प्रवेश रोक्न दुई प्रमुख इनलेटमा तैरने फोहोर अवरोधक (ट्र्यास बुम) जडान गरिएको छ। रिसाइकलिङ तथा अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने परियोजना (जीसीआरयू) अन्तर्गत बैदाम प्रहरी कार्यालय पछाडि बुलौदी र फिर्के खोलाको संगमस्थल तथा अन्नपूर्ण आधारभूत विद्यालय नजिक ट्र्यास बुम जडान गरिएको हो।
खोलामार्फत बगेर आउने फोहोर तालमा मिसिनुअघि नै रोक्ने उद्देश्यले पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहकार्यमा ट्र्यास बुम जडान गरिएको पोखरा ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले जानकारी दिए ।

बैदाम खोला संगमस्थलमा आठ र अन्नपूर्ण विद्यालय क्षेत्रमा सात गरी कुल १५ वटा मोड्युलर फ्लोटिङ युनिट जडान गरिएको छ। पुनःप्रयोग गरिएका प्लास्टिकका बोतललगायत सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले खोलामा बगेर आउने प्लास्टिक तथा अन्य तैरने फोहोरलाई किनारतर्फ डोर्याएर सङ्कलन गर्न सहयोग गर्नेछन्।

ट्र्यास बुमलाई खोलाको बहावसँग तिरछो हुने गरी जडान गरिएको छ। बाढीको पानी र हिलोबालुवाको बहावलाई समेत ध्यानमा राखेर निर्माण गरिएको संरचनाको जडानपछि परीक्षणसमेत गरिएको छ।
\
फेवातालमा प्लास्टिकजन्य फोहोर जम्मा हुँदा पानीको गुणस्तर, जलचर तथा आसपासको पारिस्थितिक प्रणालीमा असर पर्ने भएकाले स्रोतबाटै प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यो पहल गरिएको हो। यसले फालिएका प्लास्टिकका बोतललाई वातावरण संरक्षणमा उपयोगी सामग्रीका रूपमा पुनःप्रयोग गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ।
ट्र्यास बुमबाट सङ्कलित फोहोरको व्यवस्थापन, नियमित अनुगमन तथा मर्मतसम्भारका लागि पोखरा महानगरपालिका, वातावरण शाखा र सम्बन्धित वडा कार्यालयसँग समन्वय गरिने जनाइएको छ। परियोजनाको अवधि सकिएपछि पनि यसको निरन्तर सञ्चालनका लागि महानगरपालिकाको वातावरण शाखाले जिम्मेवारी लिने व्यवस्था गरिएको छ।
यसको जडान कार्य क्लिनिट अपसाइक्लर्स प्रालिले गरेको हो। स्थानीय सरकारको नेतृत्व, निजी क्षेत्रको नवीन प्रविधि र समुदायको सहभागितामार्फत फेवातालको प्रदूषण न्यूनीकरण तथा पोखरामा दिगो फोहोर व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य परियोजनाले लिएको छ।
