काठमाडौं,
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। घटनाबारे मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीसँग छलफल गरेका छन् भने प्रहरीले केहीबेरमै विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
साउन ८ गते मध्याह्न १२ बजे सुरु भएको परीक्षाको प्रश्नपत्र करिब पाँच मिनेटमै ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा साझा गरिएको थियो। त्यसपछि प्रश्नपत्र सामाजिक सञ्जालमा फैलिएको भन्दै ‘टियु स्टुडेन्ट्स’ फेसबुक पेजले स्क्रिनसटसहित त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।
सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि एक सदस्यले समाधान (सोलुसन) पनि मागेको र केही मिनेटपछि अर्को पीडीएफ फाइलसमेत पठाइएको देखिएको छ। उक्त फाइलको सामग्री भने सार्वजनिक गरिएको छैन। सोही समूहमा अर्को सदस्यले आगामी परीक्षामा पनि यस्तै गरी प्रश्नपत्र पठाइदिन अनुरोध गरेको सन्देशसमेत भेटिएको छ। उक्त ह्वाट्सएप समूहमा एक हजारभन्दा बढी सदस्य रहेको बताइएको छ।
घटनापछि व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्युरोलाई औपचारिक पत्राचार गर्दै संलग्न व्यक्ति, संस्था वा परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाही गर्न अनुरोध गरेको थियो।
यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रा। डा। अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सहप्राध्यापक डा। पुष्कर रैखला र सहप्राध्यापक डा। महेशराज ओझा सदस्य रहेका छन्।
समितिलाई सात कार्यदिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै सरोकारवालाले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।