सुचना, समाचार र मनोरन्जन

क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

 

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशंका गरिएको एउटा डुंगामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ ।

 

ट्रम्प प्रशासनले ‘नार्को–आतंकवादी’ भन्दै लक्षित गर्न थालेयता अमेरिकी सेनाले डुङ्गामाथि गरेको आक्रमणमा मारिनेको सङ्ख्या पछिल्लो घटनासहित कम्तीमा २३१ पुगेको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका यस्ता ६९ वटा आक्रमणमा ती मानिस मारिएको जनाइएको छ ।

 

अमेरिकी दक्षिणी कमाण्ड(युएस सदर्न कमाण्ड) ले तस्करीका लागि परिचित समुद्री मार्गमा लागुऔषध तस्करलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । यद्यपि, आक्रमण गरिएको डुंगामा लागुऔषध ओसारपसार भइरहेको पुष्टि हुने प्रमाण सेनाले सार्वजनिक गरेको छैन ।

 

कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको जस्तो देखिने एउटा डुङ्गा र त्यसपछि देखिएको चम्किलो प्रकाशको दृश्य देखिन्छ ।

 

ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूको भूमिमा समेत लागुऔषध तस्करीविरुद्ध सैन्य कारबाही विस्तार गर्न सहयोगी राष्ट्रसँग सहकार्यको प्रयास गरिरहेको छ । रक्षामन्त्री पिट हेगसेथले गत महिना पानामाको भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनालाई आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही गर्न अनुमति दिन सहमति जनाएको बताएका थिए । तर ग्वाटेमालाले भने त्यस्तो कुनै सम्झौता भएको अस्वीकार गरेको छ ।

 

इक्वेडरले भने मार्चमै अमेरिकासँग सहकार्य गरी यस्तै प्रकारका सैन्य अभियान सञ्चालन गरेको थियो ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग ‘सशस्त्र द्वन्द्व’ गरिरहेको बताएका छन् । अमेरिकामा भित्रिने लागुऔषधको प्रवाह र अत्यधिक सेवनबाट हुने मानवीय क्षति रोक्न यी आक्रमण आवश्यक रहेको भन्दै उनले कारबाहीको बचाउ गर्दै आएका छन् ।

 

यद्यपि, प्रशासनले आक्रमणमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको दाबी पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक गरेको छैन ।

Leave A Reply

Your email address will not be published.