सुचना, समाचार र मनोरन्जन

उद्योगीको समस्या मेरो समस्या, व्यवसायीको आवाज मेरो आवाज: शोभा गौतम

पोखरा,

पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले पोखराको औद्योगिक क्षेत्रको संरक्षणसँगै नयाँ औद्योगिक क्षेत्र र औद्योगिक करिडोर निर्माणका लागि निरन्तर पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले उद्योगी–व्यवसायीलाई केवल भाडावालका रूपमा नभई रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र राज्यलाई राजस्वमा योगदान दिने अर्थतन्त्रका आधारस्तम्भका रूपमा हेर्नुपर्ने बताइन्।

उनले पोखरा–१० मा २०३१ सालमा औद्योगिक क्षेत्र स्थापना हुँदाको अवस्था र अहिलेको परिस्थितिलाई एउटै दृष्टिले हेर्न नहुने उल्लेख गरिन्।

औद्योगिक क्षेत्र स्थापना हुँदा वरपर न्यून बस्ती रहेको र समयक्रममा बस्ती विस्तार हुँदै उद्योग क्षेत्रसम्म आइपुगेको भन्दै उनले बदलिएको अवस्थालाई ध्यानमा राखेर राज्यले दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।

उनको भनाइमा, इतिहास बिर्सेर उद्योगलाई दोष दिनु समस्याको समाधान होइन। उद्योग जोगाउनु भनेको उत्पादन, रोजगारी र अर्थतन्त्र जोगाउनु हो।

औद्योगिक तथा आवासीय क्षेत्रबीच आवश्यक दूरीको स्पष्ट मापदण्ड कायम गर्नुपर्नेमा जोड दिँदै गौतमले सरकारले घोषणा गरेका नयाँ औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरका योजनालाई कार्यान्वयनमा लैजान सरोकारवाला निकायसँग प्रभावकारी पहल गर्ने बताइन्।

Protin

निवर्तमान अध्यक्ष गोकर्ण कार्कीको कार्यकालमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि भएका पहल र उद्योगीका समस्यालाई सम्बोधन गर्न थालिएका प्रयासलाई समेत निरन्तरता दिने उनको भनाइ छ।

सम्मानप्रति आभार व्यक्त गर्दै अध्यक्ष गौतमले आफूले प्राप्त गरेको पदलाई व्यक्तिगत उपलब्धिभन्दा उद्योगी–व्यवसायीले दिएको विश्वास र जिम्मेवारीका रूपमा लिएको बताइन्।

उनले भनिन्- “पद पाउनु ठूलो कुरा होइन, पदले दिएको जिम्मेवारी पूरा गर्नु ठूलो कुरा हो। उद्योगीको समस्या मेरो समस्या हो, व्यवसायीको आवाज मेरो आवाज हो।”

गौतमले निजी क्षेत्र अब निराश भएर बस्नुभन्दा नयाँ सोच, ऊर्जा र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिइन्।

पोखरालाई व्यापार र पर्यटनमा मात्र सीमित नराखी उद्योग, उत्पादन, लगानी, रोजगारी र उद्यमशीलताको बलियो केन्द्रका रूपमा विकास गर्न निजी क्षेत्र एकजुट हुनुपर्ने उनको भनाइ छ।

उनले संस्था र परिचय फरक भए पनि निजी क्षेत्रको उद्देश्य एउटै रहेको बताउँदै उद्योग चल्ने, व्यापार बढ्ने, रोजगारी सिर्जना हुने र पोखराको अर्थतन्त्र बलियो बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

“हामी फरक संस्था होइनौँ, एउटै निजी क्षेत्रका सहयात्री हौँ। हातमा हात र काँधमा काँध मिलाएर बलियो उद्योग, सम्मानित व्यवसायी र समृद्ध पोखरा निर्माण गरौँ,” अध्यक्ष गौतमले भनिन्।

Leave A Reply

Your email address will not be published.