मुस्ताङ,
उत्तरी चीनसँग सिमान जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिजो देखि उपल्लो मुस्ताङमा दुईदिने राष्ट्रिय परिचयपत्र वितरण शिविर शुरू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा ६ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । स्थानीयवासी आफ्नै गाउँघरमा यो सेवा पाउँदा खुशी भएका छन ।
पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ ।